कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

म्याग्दी । एक सातादेखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ। वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि मर्मतमा प्रयोग भएका उपकरणका लागि नेपाली सेनाको सहयोगमा ड्रोनमार्फत डिजेल ढुवानी गरिएको हो।

रघुगङ्गा गाउँपालिका–२ कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ। सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार बेनीबाट सवारीसाधनमा कुनौटासम्म लगिएको डिजेल ड्रोनको सहायताले कटान क्षेत्र पार गराइएको हो। छ पटकको उडानबाट ४०० लिटर डिजेल कटान क्षेत्र पार गराइएको उनले बताए। कुनौटाबाट सेनाको टोलीले डिजेल अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म पुर्‍याएको छ।

शत्रुभञ्जन गुल्मका सेनानी राकेश बस्नेतले काठमाडौँबाट आएका प्राविधिक जनशक्तिको सहयोगमा ड्रोनमार्फत डिजेल ढुवानी गरिएको बताए। कुनौटामा एक पटकमा १२० लिटरका दरले डिजेल ढुवानी गरिएको उनले जानकारी दिए। सेनाले यसअघि रसुवामा बाढी प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न पनि ड्रोन प्रयोग गरेको थियो।

रघुगङ्गा–३ तिल्केनीचौरबाट बैसरीसम्म डिजेल ढुवानी गर्न शनिबार पनि नेपाली सेना र स्वयंसेवकले सहयोग गरेका थिए।

कालीगण्डकीको बाढी र कटानबाट क्षतिग्रस्त सडक मर्मतमा करिब २० वटा डोजर र सयौँ मजदुर परिचालन भएका छन्। पोखरेबगर, रातोपानी, घिरच्याङ, महभिर, भिरकाटे, राहुपारे र तिल्केनीचौरमा सडक मर्मत भइरहेको आयोजना प्रमुख शर्माले बताए।

पोखरेबगर सडक पुलको पहुँचमार्गसमेत मर्मत भइरहेको छ। सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन समानान्तर रूपमा काम गरिरहेका छन्।

पर्वतको मालढुङ्गादेखि चीनको सीमावर्ती कोरला नाकासम्म सडकको दूरी २०२ किलोमिटर छ। म्याग्दीको कुनौटा–पोखरेबगर क्षेत्रमा करिब १२ किलोमिटर सडक मर्मत गर्न बाँकी छ। अन्य स्थानमा मर्मतपछि एकतर्फी रूपमा हलुका सवारीसाधन सञ्चालन हुन थालेका छन्।

सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए। रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्त्वपूर्ण बनेको उनले बताए। कोरला नाका जोड्ने सडक छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ।

मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भएको छ। दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिँदै गएको छ। पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *