यस्तो छ नेपाल-भारतको २४ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री बालेन साहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विकास सहायता, ऊर्जा, पूर्वाधार, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य तथा प्रविधिसहित विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने सहमति भएको छ।

सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रूपैयाँ बराबरको अनुदान तथा ऋण सहायता उपलब्ध गराउने भएको छ।

सहयोगमध्ये ५ हजार ६ सय करोड नेपाली रुपैयाँ अनुदान सहायता विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि उपलब्ध गराइनेछ भने १८ हजार ४ सय करोड नेपाली रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधाका रूपमा प्रदान गरिनेछ।

हवाई कनेक्टिभिटी विस्तार गर्ने क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन हुने बनाउने सहमति भएको छ। नेपालको पारवहन व्यापारका लागि भारतको गुजरातस्थित काण्डला बन्दरगाह र आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने घोषणा पनि गरिएको छ।

रेल तथा सीमा पूर्वाधार विकासका क्षेत्रमा अयोध्या–जनकपुर सरयू–कमला एक्सप्रेस रेल सेवा सुरु गरिएको छ। प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको घोषणा गर्दै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ। बनबासामा नयाँ एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ भने भैरहवा, सुनौली र दोधारा–चाँदनीमा निर्माण भइरहेका जाँच चौकीको प्रगतिलाई स्वागत गरिएको छ।

धार्चुला–दार्चुलाबीच नयाँ सीमापार मोटर चल्ने पुल उद्घाटन गरिएको छ। सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त कार्यलाई निरन्तरता दिने र बाँकी सीमा विवादका विषयमा दुवै देशका परराष्ट्र सचिवले काम गर्ने सहमति पनि भएको छ।

पेट्रोलियम पूर्वाधार विस्तारका क्रममा मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण उद्घाटन गरिएको छ। झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गर्दै सिलिगुडी–झापा पाइपलाइन निर्माण शीघ्र सुरु गर्ने तथा ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावना खोज्ने सहमति भएको छ।

ऊर्जा क्षेत्रमा ६६९ मेगावाट क्षमताको लोअर अरुण जलविद्युत् परियोजनाको शिलान्यास गरिएको छ। भारतीय कम्पनीहरूले नेपालमा निर्माण गरिरहेका जलविद्युत् परियोजना शीघ्र सम्पन्न गर्ने सहमति भएको छ। पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन अन्तिम रूप दिने तथा सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर निर्माणलाई तीव्र बनाउने सहमति पनि भएको छ।

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणबारे संयुक्त प्रेस विज्ञप्ति (२२–२३ नोभेम्बर २०२६)
भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री महामहिम श्री बालेन्द्र शाहले २२–२३ नोभेम्बर २०२६ मा भारतको राजकीय भ्रमण गर्नुभयो। उहाँसँग उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल पनि सहभागी थियो। प्रधानमन्त्री बालेन्द्र शाह पदभार ग्रहण गरेपछि भारतको यो पहिलो भ्रमण हो।

२. प्रधानमन्त्री साहलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। उहाँले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुसँग भेट गर्नुभयो। भारतका विदेशमन्त्री डा. एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेट गर्नुभयो।

३. भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग वार्ता गर्नुभयो र उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुभयो। दुई नेताबीचको छलफलमा द्विपक्षीय सहयोगका प्रमुख क्षेत्र, साझा चासोका क्षेत्रीय विषय तथा विश्वव्यापी घटनाक्रमबारे विचार आदानप्रदान भयो।

४. प्रधानमन्त्री साहले नेपालमा रसुवा–भोटेकोसी क्षेत्रमा गएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि भारतले प्रदान गरेको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति प्रशंसा व्यक्त गर्नुभयो।

५. प्रधानमन्त्री मोदीले नजिकको मित्र तथा छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्‍याउनुभयो। भारतले नेपाललाई कुल १५ हजार करोड भारतीय रुपैयाँ (२४ हजार करोड नेपाली रुपैयाँ) बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसमध्ये विपद्पछिको पुनर्निर्माण तथा नेपालमा नयाँ पूर्वाधार परियोजनाका लागि ३ हजार ५ सय करोड भारतीय रुपैयाँ (५ हजार ६ सय करोड नेपाली रुपैयाँ) अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५ सय करोड भारतीय रुपैयाँ (१८ हजार ४ सय करोड नेपाली रुपैयाँ) बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा (लाइन अफ क्रेडिट) उपलब्ध गराइनेछ। विकास सहायता प्रदान गर्ने सम्बन्धमा विशेष परियोजना तथा कार्यविधि दुवै पक्षबीच आपसी परामर्शबाट तय गरिनेछ।

६. दुवै नेताले नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) लगायतका विकास परियोजनाहरू कार्यान्वयनमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। भारत सरकारको सहयोगमा निर्माण भइरहेको नेपाल राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माणमा भएको प्रगतिलाई पनि उहाँहरूले उल्लेख गर्नुभयो। चितवनमा भारतको अनुदान सहयोगमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणाको पनि दुवै नेताले स्वागत गर्नुभयो।

७. दुवै नेताले ‘विकसित भारत र समुन्नत नेपाल’ विषयमा संयुक्त दृष्टिकोण दस्तावेज (Joint Vision) अपनाउनुभयो। उक्त संयुक्त दृष्टिकोण दस्तावेजले भारत र नेपालबीच महत्वाकांक्षी तथा भविष्य उन्मुख साझेदारीका लागि मार्गचित्र प्रस्तुत गर्दछ। यसमा आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा मजबुत द्विपक्षीय सहयोगका क्षेत्रलाई थप विस्तार गर्ने पहलहरू समेटिएका छन्। साथै जलवायु उत्थानशीलता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनजस्ता नयाँ क्षेत्रमा सहकार्य र समन्वयका सम्भावनाहरू पनि समेटिएका छन्।

८. दुवै नेताले नागरिक उड्डयनसम्बन्धी विषयमा जारी छलफललाई उल्लेख गर्नुभयो, जसको उद्देश्य हवाई कनेक्टिभिटी विस्तार गर्नु र द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउनु हो। विद्यमान एकतर्फी बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन हुने बनाउने सहमति भएको छ। यससम्बन्धी कार्यविधि टुङ्गो लगाउन तथा छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयन प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।

९. प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) हुँदै नयाँ मार्ग उपलब्ध गराउने घोषणा गर्नुभयो। आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहमा पनि पहुँच उपलब्ध गराइनेछ।

१०. दुवै नेताले नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (ICP) तथा पेट्रोलियम पाइपलाइन निर्माणमार्फत सीमापार कनेक्टिभिटी सुधार र सीमा पूर्वाधार सुदृढीकरणको महत्वमा जोड दिनुभयो।

११. दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने उद्घाटन सरयू–कमला एक्सप्रेस रेल सेवाको शुभारम्भ गर्नुभयो। यस रेल सेवाले कनेक्टिभिटी सुधार गर्नुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन गर्ने र भारत–नेपालबीचको सभ्यतागत सम्बन्धलाई थप सुदृढ बनाउनेछ। दुवै नेताले बौद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किट विकासका लागि यस्तै अन्य कनेक्टिभिटी विस्तारका सम्भावना खोज्ने सहमति गर्नुभयो।

१२. प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको दुवै नेताले घोषणा गर्नुभयो। साथै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा दुवै पक्ष सहकार्य गर्ने घोषणा गर्नुभयो।

१३. दुवै नेताले बनबासामा नयाँ एकीकृत जाँच चौकी (ICP) निर्माणको शिलान्यास भर्चुअल माध्यमबाट गर्नुभयो। भैरहवा, सुनौली तथा दोधारा–चाँदनीमा ICP निर्माणको प्रगतिप्रति स्वागत व्यक्त गर्नुभयो। भारत र नेपालबीच हाल तीनवटा एकीकृत जाँच चौकी सञ्चालनमा रहेका छन्।

१४. भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण भएको नयाँ सीमापार मोटर चल्ने पुलको दुवै नेताले उद्घाटन गर्नुभयो। यस पुलले पश्चिमी नेपाल र भारतबीच प्रत्यक्ष कनेक्टिभिटी सुधार गर्न सहयोग पुर्‍याउनेछ।

१५. दुवै पक्षले सीमा स्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भइरहेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। बाँकी सीमा विवादका विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिनुभयो।

१६. भारत र नेपालबीच सीमापार पेट्रोलियम पूर्वाधार विस्तारको क्रममा दुवै नेताले मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपालका जनतालाई समर्पण गर्नुभयो। साथै नेपालमा झापा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास भर्चुअल माध्यमबाट गर्नुभयो। सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको निर्माण कार्य शीघ्र सुरु गर्नुपर्ने महत्वमा जोड दिनुभयो। भारत र नेपालबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भावना खोज्ने सहमति पनि भएको छ।

१७. भारत–नेपाल विद्युत् क्षेत्र सहयोगसम्बन्धी संयुक्त दृष्टिकोण दस्तावेज तथा दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुसार जलविद्युत् क्षेत्रमा भइरहेको द्विपक्षीय प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गर्नुभयो। नेपालमा भारतीय कम्पनीहरूको जलविद्युत् क्षेत्रमा सक्रिय सहभागिताको स्वागत गर्दै भारतीय कम्पनीहरूले विकास गरिरहेका विभिन्न जलविद्युत् परियोजनाहरू शीघ्र सम्पन्न गर्न सुनिश्चित गर्ने सहमति भएको छ। यस अवसरमा दुवै नेताले ६६९ मेगावाट क्षमताको लोअर अरुण जलविद्युत् परियोजनाको शिलान्यास भर्चुअल माध्यमबाट गर्नुभयो।

१८. दुवै नेताले पञ्चेश्वर विकास प्राधिकरण तथा संयुक्त जलस्रोत समितिलाई पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (DPR) शीघ्र अन्तिम रूप दिन र परियोजना कार्यान्वयन सुरु गर्न निर्देशन दिनुभयो। साथै जलस्रोतको पारस्परिक लाभका लागि उपयोग तथा बाढीको प्रभाव न्यूनीकरण गर्न सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको DPR निर्माण कार्य तीव्र बनाउनुपर्ने आवश्यकतामा सहमति जनाउनुभयो।

१९. दुवै पक्षले नेपालस्थित इनरुवा–भारतस्थित न्यू पूर्णिया तथा नेपालस्थित दोधारा–भारतस्थित बरेलीबीच निर्माण हुने दुई उच्च क्षमताका सीमापार प्रसारण लाइनका लागि संयुक्त कम्पनी (JV) गठनसम्बन्धी प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो।

२०. नेपालमा भारतको विकास तथा क्षमता अभिवृद्धि सहयोग विस्तार गर्ने क्रममा नेपालमा भारतीय प्रविधि संस्थान (IIT) को अफसोर क्याम्पस स्थापना गर्ने सहमति भएको छ। यसले नेपालको शिक्षा क्षेत्रमा थप क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारी सिर्जनालाई पनि प्रोत्साहन गर्नेछ। दुवै नेताले स्टार्टअप, डिजिटल तथा वित्तीय कनेक्टिभिटी लगायत प्रविधिको क्षेत्रमा भारत र नेपालबीच विस्तार भइरहेको सहयोगको स्वागत गर्नुभयो।

२१. दुवै पक्षले एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैंकिङ तथा दूरसञ्चार लगायतका सेवाहरूमा सहज पहुँच सुनिश्चित गर्न आपसी सहजीकरणको आवश्यकता स्वीकार गर्नुभयो।

२२. भ्रमणका क्रममा दुवै पक्षबीच निम्न समझदारीपत्र (MoU) आदानप्रदान गरिएका छन्ः

– भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहयोगसम्बन्धी समझदारीपत्र।
– भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (RRU) र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठान (NPA) बीच समझदारीपत्र।
– भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गत राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीका लागि क्षमता अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रमसम्बन्धी समझदारीपत्र।
– आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहयोगसम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।
– भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालय (MOIC) बीच दक्षिण एसिया उपग्रहको उपयोगका लागि स्याटेलाइट सञ्चार (SATCOM) नेटवर्क स्थापना सम्बन्धी समझदारीपत्र।
– दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहयोगसम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।
– भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र।
– पशुधन तथा मत्स्य विकासको क्षेत्रमा सहयोगसम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।

२३. नेपालका प्रधानमन्त्रीले आफू तथा प्रतिनिधिमण्डललाई प्रदान गरिएको हार्दिक आतिथ्यताप्रति भारतीय प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गर्नुभयो र औपचारिक रूपमा नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो। भारतीय प्रधानमन्त्रीले निमन्त्रणा स्वीकार गर्नुभयो। भ्रमणको आधिकारिक मिति कूटनीतिक माध्यमबाट तय गरिनेछ।

२४. भारत–नेपाल साझेदारी गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान तथा समझदारीमा आधारित छ। दुवै देशबीचको बलियो जनस्तरको सम्बन्ध तथा निकट आर्थिक र विकास सहयोगले यस साझेदारीलाई थप सुदृढ बनाएको छ। यस भ्रमणले दुवै देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई पुनः पुष्टि गरेको छ र यसलाई अझ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

२३ नोभेम्बर २०२६

नयाँ दिल्ली

Leave a Reply

Your email address will not be published. Required fields are marked *