काठमाडौं । सरकारले विपद्का घटनाबारे तत्काल पूर्वसूचना प्रवाह गर्ने उद्देश्यले सेल ब्रोडकास्ट प्रणालीको परीक्षण गर्ने भएको छ ।
गृह मन्त्रालय तथा सूचना तथा सञ्चार मन्त्रालयले संयुक्त रूपमा सार्वजनिक गरेको सूचनाअनुसार परीक्षणका क्रममा मोबाइलमा आपतकालीन सतर्कता सन्देश र विशेष चेतावनी ध्वनि आउन सक्छ। यस्तो सन्देश प्राप्त भएमा नआत्तिन र कुनै थप कदम चाल्न आवश्यक नरहेको सरकारले स्पष्ट पारेको छ ।
परीक्षण सन्देशमा ‘यो परीक्षण सन्देश हो’ र ‘ This is a test message’ लेखिएको हुनेछ। एकभन्दा बढी पटक सन्देश आउन सक्ने पनि सरकारले जनाएको छ ।
सेल ब्रोडकास्ट प्रणाली विपद्का बेला प्रभावित क्षेत्रमा रहेका मोबाइल प्रयोगकर्तालाई तत्काल सतर्कता सन्देश पठाउन प्रयोग गरिन्छ। यसबारे थप जानकारीका लागि सरकारले निःशुल्क नम्बर १२३४ उपलब्ध गराएको छ ।
सरकारले ‘सजग नागरिक, सुरक्षित नेपाल’ भन्ने सन्देशसहित नागरिकलाई परीक्षणका क्रममा प्राप्त हुने अलर्टबाट नआत्तिन आग्रह गरेको छ।

