कर्णाली रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण

सुर्खेत । कर्णाली प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गरिएको कर्णाली रङ्गशाला औपचारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । निर्माण कम्पनी एमएसी र जीएसएल जेभीले रङ्गशाला कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरणपछि कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले रङ्गशालाको औपचारिक उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, सदस्यहरू मोनालिशा खम्बू, शक्तिप्रसाद गौचन र ललिता नाथ, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल तथा सदस्य–सचिव रविन्द्र चन्दलगायतको उपस्थिति रहेको थियो ।

कर्णाली प्रदेशको खेलकुद पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा रहेको रङ्गशाला हस्तान्तरणसँगै प्रदेशमा खेलकुद गतिविधि सञ्चालन तथा प्रतियोगिता आयोजनाका लागि थप सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *