कास्की । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ । प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको विकाससँगै पोखराको खेलकुद र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको छ ।
पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघलगायतका संस्थाले सहयोग गर्दै आएका छन् ।
प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि तथा अन्य विवरण पछि सार्वजनिक गरिने आयोजक सहाराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको छ ।
प्रतियोगिताले प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको अध्यक्ष थापाले बताए ।
“आहा रारा गोल्डकप राजधानी बाहिरको सबैभन्दा पूरानो फूटबल प्रतियोगिता हो । विसं २०५८ देखि निरन्तर सञ्चालन हुँदै आएको छ । आगामी संस्करण समेत भव्य र व्यवस्थित सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेका छौँ”, अध्यक्ष थापाले बहने ।
सहाराले फुटबल प्रतियोगिता सञ्चालन गरेर बचत भएको रकमले फुटबल एकेडेमी सञ्चालन गरेको छ । पोखरा–१७ दोविल्लामा रहेको एकेडेमीमा हाल देशका विभिन्न भागबाट छनोट भएका २७ जना बालकहरुले आवाससहित शिक्षा र फुटबलको प्रशिक्षण लिँदै आएका छन् ।
