आजदेखि दशौँ राष्ट्रिय खेलकुद सुरु हुँदै

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि विभिन्न खेलका प्रतिस्पर्धा भने आजैदेखि सञ्चालन हुन लागेका हुन् ।

दशौँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार आजदेखि पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, पौडीसहित ६ खेलमा प्रतिस्पर्धा सुरु हुनेछ ।

प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुँदैछन् । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई-स्पोर्ट्स र सेपाकताक्रोका प्रतियोगिता सुर्खेतमा हुनेछन् ।

त्यस्तै, टेनिस र खोखो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालीकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा आयोजना हुने तालिका छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रतियोगिताको तयारी पूरा भएको छ । विभिन्न प्रदेशबाट खेलाडी तथा खेलकर्मीहरू वीरेन्द्रनगर पुगिसकेका छन् । प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा हुने भएकाले नवनिर्मित रंगशालासहित खेलस्थलहरूलाई प्रतिस्पर्धाका लागि तयार पारिएको छ ।

सोमबार कर्णाली रंगशाला प्रदेश सरकारलाई हस्तान्तरणसँगै उद्घाटन गरिएको थियो । मुख्यमन्त्री मंगलबहादुर शाहीले रंगशालाको उद्घाटन गरेका हुन् । प्रतियोगिताको प्रचारप्रसारका लागि वीरेन्द्रनगरमा सांस्कृतिक झाँकीसहित र्‍यालीसमेत निकालिएको थियो । उक्त र्‍यालीमा मुख्यमन्त्री, मन्त्री, सांसद, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव रविन चन्द, खेलाडी तथा स्थानीयको सहभागिता थियो ।

लामो प्रतीक्षापछि कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ सुरु हुन लागेको हो । प्रतियोगिताको उद्घाटन मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते सोही रंगशालामा हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *