काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन साहको भारत भ्रमण उपलब्धिपूर्ण रहेको बताएको छ । प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणका क्रममा सरकारले नेपालको राष्ट्रहित प्रवद्र्ध गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए ।
उनले भारतसँगको सदियौँ पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक र जनस्तरको सम्बन्ध तथा सहकार्यलाई अझ बलियो बनाई दुवै देशका नागरिकले प्रत्यक्ष रूपमा अनुभूति र लाभ पाउने दिशामा भ्रमण केन्द्रित रहेको मन्त्री खनालले बताए ।
दुई देशबीच व्यापार सहजीकरणलाई अझ प्रभावकारी बनाउन पारवहन व्यवस्था सुधार गर्ने तथा सीमापार सम्पर्क सञ्जाल सुदृढ पार्ने दिशामा मिलेर काम गर्ने सहमति भएको उनले बताए । साथै उनले दुई प्रधानमन्त्रीबीच नेपाल–भारत सीमानाका विषयमा चर्चा भएको र संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भ मर्मत–सम्भारमा भएको प्रगति उल्लेख गरे ।
विद्यमान सीमासम्बन्धी विषयमा काम गर्न नेपाल र भारतका परराष्ट्र/विदेश सचिवहरूलाई निर्देशन दिइएको उनले बताए । परराष्ट्रमन्त्री खनालले हवाई सम्पर्क सञ्जाल प्रवद्र्धन तथा नागरिक उड्डयनसम्बन्धी विषयमा दुई नेताबीच छलफल भएको र हाल एकतर्फी रहेको ’बी–३४५’ (काठमाडौं–भैरहवा–लखनऊ) हवाई मार्गलाई दुईतर्फी (बाइ–डिरेक्सनल) बनाउन दुवै पक्ष सहमत भएको जानकारी दिए ।
दुवै देशका प्रधानमन्त्रीहरूले जनकपुर र अयोध्याबीचको यात्रुवाहक रेलको भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेसँगै सामाजिक तथा धार्मिक सम्बन्ध अझ प्रगाढ बनाउने र पर्यटन तथा जनस्तरको सम्बन्ध प्रवर्धनमा योगदान पुग्ने अपेक्षा गरिएको मन्त्री खनालले बताए ।
