काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको निर्वाचन पराजयको सम्पूर्ण दोष अध्यक्ष केपी शर्मा ओलीलाई थोपर्नुभन्दा विचार, संगठन, नीति र रणनीतिमा भएका कमजोरीको सामूहिक समीक्षा गर्नुपर्ने बताएकी छन् ।
एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै झाँक्रीले पार्टीभित्र गठन गरिएको कार्यदलको निर्णय नै गलत भएको टिप्पणी गरिन्। कार्यदल गठनले तल्लो तहका कार्यकर्तालाई अनावश्यक रूपमा दुई ध्रुवमा विभाजित गरेको उनको भनाइ थियो।
पार्टी केन्द्रीय कमिटीको बैठकमा झाँक्रीले राखेका धारणाः
अध्यक्ष कमरेड,
अध्यक्ष कमरेडको प्रतिवेदनमाथि केही सुझाव राख्न चाहन्छु । पहिलो कुरा, कार्यदल बनाउने निर्णय नै गलत थियो । यसले तलतल कार्यकर्तालाई अनायासै दुई ध्रुवमा बिभाजित गर्यो । केन्द्रीय सदस्यहरू तल गएर आफ्नो धारणा राख्नु पर्ने भयो, जबकी कुरा राख्ने ठाउँ यो थियो । अर्को प्रश्न कार्यदलले बनाएको प्रतिवेदन सार्वजनिक गर्ने अवस्था किन आएन ? अध्यक्ष वा पदाधिकारीले स्वीकार नगर्नु नै कार्यदलको औचित्य थिएन भन्ने होइन र ? दोस्रो, गत भाद्र २३/२४ पछि महाधिवेशन गर्यौं, नेतृत्व छान्यौं र निर्वाचनमा गयौं । परिणाम हामी सबैका अगाडि छ ।
तर हामी निर्वाचनमा महाधिवेशनका साझा निश्कर्ष बोकेर गयौं त? पार्टीको नीति र विचार लिएर गयौं कि विद्यार्थीको हत्यारा केपी ओली हो, अध्यक्षले जिम्मेवारी लिनुपर्छ’ भन्ने भाष्य लिएर गयौं ? महाधिवेशनमा अध्यक्षको राजनीतिक प्रतिवेदन सर्वसम्मत पास भएको थियो।तर निर्वाचनमा जाँदा त्यो राजनीतिक स्पिरिट किन बोकिएन? समस्या कहाँ थियो ? चुनावपछि साढे दुई महिनामै फेरि ‘हारको जिम्मेवारी अध्यक्षले लिनुपर्छ’, ‘विशेष महाधिवेशन गर्नुपर्छ’, ‘अध्यक्ष रहँदासम्म पार्टी बनाउन सकिँदैन’ भन्ने भाष्य बनाइयो।
यही भाषालाई मूर्त रूप दिन कार्यदल बन्यो। सबै दोषको भारी अध्यक्षलाई बोकाएर विदा गर्नुपर्छ भन्ने सन्देश माथिदेखि तलसम्म गयो। के यो सहि राजनीतिक विश्लेषण र निष्कर्ष हो ? तेस्रो, आज पनि हामीले मूल चुनौतीमाथि पर्याप्त छलफल गरेका छैनौं। हामी बाँचेको समाज कसरी बदलिँदैछ? पुस्ता कसरी फेरिँदैछ ? फेसबुक, मेटा, टिकटक, एक्सजस्ता प्लेटफर्म र तिनका अल्गोरिदमले जनमत र निर्वाचनलाई कसरी प्रभावित गर्न सक्छन्? बट र डिजिटल अभियानमार्फत दल वा नेताप्रति कति घृणा फैलाउन सकिन्छ भन्ने हामीले आफ्नै अनुभवबाट भोगिसक्यौं। हैन र?
त्यसैले अब स्टेटको सोभरेन्टि मात्र होइन, Internet Sovereignty र Space Sovereignty जस्ता नयाँ चुनौतीमाथि पार्टीले रणनीति बनाउनुपर्छ। हामी कम्युनिष्ट पार्टी मात्र होइन, देशभक्त शक्ति पनि हौं। बदलिँदो प्रविधि र विश्व राजनीतिका चुनौती सामना गर्न नसक्ने हो भने हामी कसरी बाच्छौ? कसरी टिक्छौं ?
चौथो, म गत वर्ष भाद्रमा फर्कन चाहन्छु। गोदावरी विधान सम्मेलनमा अध्यक्षमा दुई कार्यकाल र उमेर हद ७० वर्षको प्रावधान हटाउने प्रस्ताव सर्वसम्मत पास भएको होईन? त्यसको एक हप्ता नबित्दै विशेष महाधिवेशनको माग गर्नु राजनीतिक रूपमा उचित थियो त? त्यो बेला त सबैका घर जलेका थिए। हाम्रो नेतृत्व माथि, पार्टी माथि मात्र होईन देशै माथि हमला भएको थियो। हामी घरबाट बाहिर निस्कने अबस्था पनि थिएन।
भाद्र २३ को घटनापछि त्यही रात तत्कालीन मन्त्रिपरिषद्का सदस्य र केन्द्रीय पदाधिकारीहरू प्रम÷अध्यक्षकै साथमा थिए ? त्यसको सामना गर्ने रणनीति संगै उभिएर बनाएका थिए ? चैत्र १३ गते नयाँ सरकार बनेकै राति अध्यक्षमाथि राजनीति प्रतिशोधको साध्ने काम भयो? त्यो बेला पार्टी कहाँ उभियो?अध्यक्षसंग आफ्ना नेता कार्यकर्ती के संगै थिए ? जुन बेला म पार्टीमा लागे, वर्ग, वर्गको स्वार्थ, वर्ग समुह, समुहको हित र आफ्नो राजनितिक विचार दलको पक्षधरताको कुरा सिकेको थिएँ। तर भाद्र २३ यता यस्तो देखियो त? विधार्थी मार्यो यो सरकार हत्यारा हो भनेर अखिल देशै भरि विघटन भएछ।
विधार्थीको हत्या गर्ने नेताको अनुहार लगेर चुनाव जितिन्न भन्ने भाष्य बनाईएको थियो। पक्षधरता खोई ? यो भाषाले जनमत कहाँ पुग्यो ? प्रतिवाद गरेको भए परिस्थिति फरक पनि हुन सक्थ्यो । महासचिव कमरेडको राजनीतिक विश्लेषणसँग म धेरै हदसम्म सहमत छु। तर परिस्थिति किन र कसरी बदलियो भन्ने थप गहिरो विश्लेषण चाहिन्छ। विचार, संगठन, नीति र रणनीतिमा कहाँ कमजोरी भयो, त्यसको समीक्षा गर्नुपर्छ । हामीले संसदीय संघर्षलाई संघर्षको मूल थलो भन्यौं। बिस्तारै पार्टी, जनसंगठन र जनवर्गीय संगठनको भूमिकाभन्दा व्यक्तिको चुनावी लोकप्रियतालाई महत्व दिन थाल्यौं। चुनाव जित्नु ब्यक्तिगत मामिला जस्तो भयो। त्यसले पार्टीभित्रै डाहा, रिस र द्वेष बढ्यो।
पार्टी कामको महत्व चुनाव जित्न मात्र बन्यो। सामाजिकिकरणको प्रक्रियामा पार्टी भेटिेएन। धारा, पानी, विजुली, बाटो अनि तिलस्मि नेतृत्व र भगवान बनाउन थाल्यौ। बाँकी चुनाव नलड्ने औकात नभएकाहरू भनेर हेप्न थालियो।
पार्टी भित्रको ठूलो ग्याप यो हो । त्यसैले दोष एक व्यक्तिलाई थोपर्ने होइन, कमजोरीको सामूहिक समीक्षा र सामूहिक सामना गरौं। माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा फेरि गम्भीर वैचारिक काम गरौं । पार्टीलाई अझ एकताबद्ध, वैचारिक र देशभक्त शक्तिका रूपमा अगाडि बढाऔं।
धन्यवाद।
