झपट रावल ।
पार्टी पुनर्गठन कार्यदलका संयोजक कमरेड बादलद्वारा प्रस्तुत यो दस्तावेज वस्तुनिष्ठ, सन्तुलित र समग्र राजनीतिक ‘प्रतिवेदन’ नभई एकाङ्गी, पूर्वाग्रहप्रेरित र व्यक्ति केन्द्रित ‘टिपोट’ मा मात्र सीमित देखिन्छ। सांगठनिक विधि र वैचारिक गम्भीरताका आधारमा विश्लेषण गर्दा यसका मूल सीमा र कमजोरीहरूलाई निम्न आधारमा रेखाङ्कन गर्न सकिन्छ ।
१. प्रतिवेदन र व्यक्तिगत टिपोटबीचको आधारभूत भिन्नता
२५ बुँदामा सीमित यो टिपोट महासचिवद्वारा प्रस्तुत मूल मस्यौदाको समग्र र गम्भीर समीक्षामा आधारित छैन। दस्तावेजको मूल मर्म, नीति र समग्र राजनीतिक कार्यदिशालाई वस्तुगत रूपमा विश्लेषण गर्नुको सट्टा, मस्यौदाको एउटा अंश र व्यक्तिविशेषको स्तुति वा टिप्पणीमा मात्रै सीमित हुनुले यसमा हुनुपर्ने राजनीतिक परिपक्वता, वैचारिक गम्भीरता र सांगठनिक सन्तुलनको घोर अभावलाई स्पष्ट पार्छ। यस्तो ढाँचाले प्रतिवेदनको संस्थागत मर्यादालाई नै गिराएको छ।
२.जनभावना र १३ वटा समूहका सुझावको घोर उपेक्षा
पार्टीको जग बलियो बनाउन र संगठनमा नयाँ प्राण भर्न देशभरका समर्पित नेता–कार्यकर्ताहरू संलग्न १३ वटा समूहबाट प्राप्त पुनर्गठन, रूपान्तरण र आगामी राजनीतिक कार्यदिशा सम्बन्धी अमूल्य सुझावहरूलाई यस टिपोटमा पूर्णतः किनारा लगाइएको छ। तल्लो तहका समर्पित कार्यकर्ताहरूको पसिना, भावना र दूरदर्शी सोचलाई उपेक्षा गरेर गरिने कुनै पनि अभ्यासले पार्टीलाई सही दिशा दिन सक्दैन। पार्टी निर्माण तल्लो तहका कार्यकर्ताको सक्रियतामा निर्भर हुन्छ, जसलाई यस टिपोटले पूर्णतः बेवास्ता गरेको छ।
३.नेतृत्व र भूमिकामा नै नैतिक विरोधाभास
आफैँ नेतृत्व गरिरहेको कार्यदल, यसको स्थापित क्षेत्राधिकार र पूर्वस्वीकृत प्रक्रियामाथि नै संयोजक स्वयम्ले प्रश्न उठाउनु राजनीतिक संस्कार र नैतिक दृष्टिकोणले गम्भीर विरोधाभासपूर्ण छ। संस्थागत जिम्मेवारीमा बसेर आफ्नै प्रक्रिया र टोलीको क्षेत्राधिकारमाथि अविश्वास प्रकट गर्नुले कार्यदलको साख, निष्पक्षता र सांगठनिक विधिमाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको छ।
निष्कर्षः
वर्तमान समय व्यक्तिवादी प्रतिरक्षा, एकाङ्गी टिप्पणी वा सङ्कुचित घेराबन्दीमा अल्झिने समय होइन। पार्टीलाई वैचारिक स्पष्टता, संगठनात्मक सुदृढता र नयाँ ऊर्जा प्रदान गर्नका लागि देशभरका १३ वटा समूहबाट प्राप्त क्रान्तिकारी, जीवन्त र रूपान्तरणकारी सुझावहरूलाई पूर्ण रूपमा आत्मसात् गर्दै अगाडि बढ्नु नै आजको एकमात्र वस्तुनिष्ठ, वैज्ञानिक र ऐतिहासिक बाटो हो ।
