माधव प्रसाद अर्याल ।
सबैमा नमस्कार
यतिबेला म बाढीले सर्वनाश गरेको क्षेत्रमा नै छु। बाढीको सूचना जारी गर्न खटिनुभएका हाम्रो होनहार कर्मचारीहरू ४ जना अहिलेसम्म बेपत्ता हुनुहुन्छ भने १ सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको पहिचान पछि दाहसंस्कार गरिएको छ । कार्यपालिका सदस्य ज्ञानु बिक, केही शिक्षकहरूसँग सम्पर्क हुन सकिरहेको छैन। वेत्रावती बजार क्षेत्र, कैदलेटार, पैरेबेसी, भुकम्पबाट विस्थापित भएर ११ वर्षदेखि अस्थायी वसोबास गरिरहेका झण्डै ३०० घर परिवार, सल्लेटार, मैलुङ क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू, त्रिशुली थ्रि बी जलविद्युत आयोजनाको ठूलो संख्याका कर्मचारी र कामदारहरू, माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा कार्यरत कोरियन, चाइनिज, भारतीय र नेपाली कामरहरू ठूलो संख्यामा हराइरहनु भएको छ । सुरूङभित्र फसेको भन्ने खबर आइरहेको छ। गोसाइँकुण्ड र मानसरोवर यात्रामा निस्कनुभएको धेरै यात्रीहरू हराइरहनुभएको छ । हराइरहनुभएका नजिकका आफन्तहरूले सम्पर्क गरेर हारगुहार गरिरहनुभएको छ। सडक सम्पर्कबाट यो क्षेत्र पूर्णरुपमा विच्छेद छ।
विद्युत आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कमा समस्या आएको र मोवाइल अफ भएर सम्पर्क हुन सकिरहेको छैन। टिमुरे, स्याफ्रुबेशी क्षेत्रमा धेरै नै मानवीय क्षति पुगेको छ। त्यो भन्दा बढी मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा अकल्पनीय मानवीय क्षति पुगेको छ। घरवारविहीन परिवारका सदस्यहरूको संख्या उल्लेख्य छ। मरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सबै निकायहरूमा समन्वय गरेर हेलिकप्टरको प्रतिक्षा गर्दा पनि कुनै सुनुवाइ नभएपछि कालिकास्थान जिवजिवे अस्पताल हुदै १० घण्टापछि धुञ्चे अस्पतालमा लानुपर्ने अवस्था हामीले भोगेका छौँ । खोलाको किनारमा ५० औँ शवहरू देखिन्छ, परिवारका सदस्यहरूले पहिचान गरेका शवहरू दाहसंस्कार गर्न फिल्डमा रहेका प्रहरीसँग सयन्वय गर्दा माथिको आदेशबाहेक केही गर्न मिल्दैन भन्ने जवाफ पाइन्छ । बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मी वेपत्ता हुनुहुन्छ। बाँकी रहनुभएको कालिकास्थानको इन्स्पेक्टर सहित ५/६ जना प्रहरी जवानहरू खाना पानी वेगर खटिनुरहनु भएको छ। माथिको आदेशबाहेक सामान्य सुरक्षा दिने काम बाहेक केही गर्न सक्नुहुन्न। सहकारी कार्यालयको व्याकअपबाट मोबाइल चार्ज गरेर खोल्दा डाटा चल्यो र सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोष्ट पढेँ हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ सामाजिक सञ्जालमा देखिन्छ। मैले अघिनै भने केही क्षेत्रमा बाहेक विपदको अवस्थामा जनताले अनुभूति गर्नेगरी कुनै काम भएको छैन ।
जनताको प्रतिनिधि भएको र भुइँमा नै काम गरिरहेको स्रोत साधन र आफ्नो कार्यालयको परिवारको सदस्य र सयौं जनताहरू गुमाएको प्रतिनिधिले अनुभूति गरेको विषय हो। । आफन्त गुमाएका र घरवार विहिनहरूको आवाज पनि हो। केही संचार माध्यमलाई प्रतिक्रिया दिएको थिएँ । गृहमन्त्रीको सचिवालयबाट फोन आयो नकारात्मक प्रचार नगरिदिनुहोला राजनीति नगर्नुहोला भन्दै हुनुहुन्थ्यो । मैले जवाफ दिए हामीले यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस् हामी सरकार भएको अनुभूति गर्नेछौं । म आबद्ध पार्टी छ, सबैभन्दा क्षमतावान अनुभवी र दूरदर्शी नेतृत्व भएको दाबी गर्ने त्यसको नेतृत्व छ। २/२ पटक केन्द्रीय सदस्य भएको म केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्ट बाहेक कसैले खोजी गर्नुभएको छैन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चासो र चिन्ता व्यक्त गर्नुभयो। सुरेन्द्र पाण्डे लगायत देशभरका नेता एवं सहयोद्धा साथीहरूले चासो र चिन्ता व्यक्त गर्नुभयो। सार्वजनिक सञ्जालमा देखे नेकपा एमालेको आकस्मिक सचिवालय बैठक भनेर । परिणामविहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं। यसले पीडितलाई थप पीडा दिनेछ। के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं। नेकपा एमालेको संस्कार र संस्कृति यही हो। यी विषयहरू मैले उठाउनै पर्ने भएर मैले आफ्नो धारणा राखेको यसलाई धेरै नकारात्मक भएछ भनेर नबुझिदिनुहोला।
अहिलेको अवस्था
हाम्रो क्षेत्रका लगभग ३५० प्रभावितहरूलाई निलकण्ठ मावि वोगटीटारमा राखेका छौँ । कालिका र नौकुण्ड गाउँपालिकाबाट खाद्यान्न लगायतका अन्य सहयोग गरेर ठूलो पुण्यकर्म गर्नुभएको छ। यो खाद्यान्नले थप तीन दिनलाई धान्ने देखिन्छ । विद्यालयको कोठाको भुइँमा कालो म्याट्रेसमा रात कटाउनुपर्ने अवस्था छ। मनकारी स्थानीय वासिन्दाहरूले घरमा नै आश्रय दिएर राख्नुभएको छ।
नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरू, सुत्केरी, गर्भवती महिला, जेष्ठ नागरिक बालबालिकाहरू उनीहरूको संवेदनशील अवस्था अनुसार गर्नुपर्ने विशेष सहयोग गर्न सकिरहेका छैनौँ। नदी किनारामा पचासौँको सङ्ख्यामा रहेका शवहरू सढेर गाउँ नै दुर्गन्धित हुन थालेको छ। जसको कारण सङ्क्रमण भई स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने सम्भावना छ।
बिरामीहरूको सङ्ख्या बढ्दो क्रममा छ । उहाँहरूलाई तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्नेछ। पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा धेरैजना हुनुहुन्छ भन्ने खबर छ। त्यहाँ खाद्यान्न लगायत अन्य सामानको अभाव छ। उहाँहरूलाई तत्काल उद्धार गरी सुरक्षित ठाउँमा आवासको व्यवस्था गर्नुपर्नेछ।त्रिशुली नदी वारी र पारी फस्नुभएका परिवारबाट विच्छेद हुनुभएका सदस्यहरूलाई उद्धार गरी परिवारसँगै राख्ने व्यवस्था गर्नुपर्नेछ।
केही सहयोगी संघसंस्थाहरूले सहयोग गर्ने कुरा गरिरहनुभएको छ । त्यसको लागि आवश्यक सहजीकरण गरिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गर्दछु। घरबारविहीनहरू, हराइरहनु भएकाहरू, अभिभावक बिहिन बालबालिकाहरू, ध्वस्त भएका सार्वजनिक र व्यक्तिको घर लगायतको तथ्याङ्क सङ्कलन भइरहेको छ।
प्रमुख जिल्ला अधिकारीसँग हिजो साँझ सम्पर्क भएको छ । उहाँले तत्काल गर्नुपर्ने काम आजबाट सुरु हुने जानकारी गराउनु भएको छ । स्थानीय सरकारका जनप्रतिनिधिहरूसित समन्वय गरेर आजबाट राज्यको नजरमा ओझेल परेका यी क्षेत्रमा माथि उल्लेख गरिएका कामहरू सुरु हुनेछ भन्ने विश्वास लिएको छु। आफन्त परिवार र घरवारविहीन जनताले त्यसको अनुभूति गर्न पाउनेछन ।धन्यवाद ।
(अर्याल रसुवाको उत्तरगया गाँउपालिकाका अध्यक्ष हुन् ।)
