उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन

-उषाकिरण तिम्सेना

मैले एमालेको संगठित सदस्यता अनेरास्ववियुमार्फत प्राप्त गरेँ, २०५९ सालमा । संयोगवश अमृत बोहोराले शपथ गराउनुभएको थियो । त्यतिबेला अखिल अध्यक्ष राजेन्द्र राई हुनुहुन्थ्यो । आजकल एमाले हुनुहुन्न उहाँ, एमालेमा ‘देवता’ भन्दा ठूला नेता छन् भनेर म एमाले भएको पनि होइन । प्रारब्ध यस्तै रहेछ भन्नु पर्ला । ‘ठूलै’ मान्छे भइएला, सांसद/मन्त्री खाइएला भनेर लागेको पनि होइन। परिस्थिति त्यस्तै पर्यो र यहाँसम्म आइपुगेँ ।

२०६० सालमा सरस्वतीमा स्ववियु निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार बन्नबाट रोक्न खोजिएको थियो, मेरो सट्टामा आजकल म फुपू भन्छु, मेरी साथी नारायणी देवकोटालाई उठाउन खोजेका थिए । फुपुले ‘उषा मभन्दा बढी सक्रिय छ, म किन उठ्ने ?’ भनेपछि म उठेको थिएँ। नुवाकोटको जिल्ला कमिटी सदस्य हुनबाट रोक्न पार्टीका ‘ठूलै’ कमरेडहरु लाग्नु भएको थियो, नसक्नु भएकै हो । नवौँ महाधिवेशनमा चुनाव जितेर प्रतिनिधि भएको थिएँ, दशौँमा सहमतिमा बल्ल प्रतिनिधि भएको हुँ ।

पार्टीभित्रको लोकतन्त्र कमजोर भएका कारण आज एमाले कमजोर परिस्थितिमा पुगेको छ । उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन । रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण गर्दा पनि अब एमाले कस्तो हुन्छ? त्यो पनि अनिश्चित छ। कुनै विषयमा छलफल गर्दा एमालेका केही व्यक्ति र खासगरी नेताका अघिपछि लागेर हिँड्नेहरूको अभिव्यक्ति हदसम्मको अश्लील, अराजनीतिक र स्त्रीद्वेषी देखेको छु । तपाईंहरूको चेतना टिप्पणी लायक वा समाजका अगाडि भन्न लायक त छैन, तर नेताका अघिपछि लाग्नेहरूको चेतना यो स्तरको हुनु विडम्बनापूर्ण छ। केही screenshot हरु प्रहरीको Cuber ब्युरोमा बुझाउने नै छु ।

र दुई हात र दुई खुट्टामा उभिनु भएका तपाईंहरू र पार्टीकै समर्थकहरू, मैले गरेका सबै कुराको राजनीतिक जिम्मा म लिन्छु। पार्टीले (आधिकारिक कमिटीले) गर्ने निर्णयसँग गुनासो गर्ने छैन । सकेसम्म राजनीतिक भाषा र यथार्थ बोल्ने प्रयत्न गर्छु र गरेको छु । तपाईंहरूलाई फेसबुकलगायत सामाजिक सञ्जाल कसैलाई व्यक्तिगत आक्षेप नलगाई चलाउन जो कोहीले पाउँछ भन्ने हेक्का रहोस्। आजको दुनियाँमा मिडियामा बोल्न सबै जना स्वतन्त्र छन् वा बोल्न पाउने अधिकार संबिधानत सुरक्षित छ भन्ने पनि थाहा पाउनुस् । र अरूलाई अपशब्द, अश्लील जे कुरा लेख्नु अघि जो कसैले यही कुरा आफ्ना छोरीचेलीलाई लेख्यो भने कस्तो लाग्ला ? आफैँलाई लेख्यो भने के होला ? मनपरी लेख्दा त्यही शब्द तपाईंलाई लेखे भने कस्तो लाग्ला? एकपचक सोचेर लेख्नु होला, एकपटक सोच्नुस् त । सबै खाले राजनीतिक प्रतिक्रिया र विचारलाई स्वागत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *