काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा संविधान संशोधन बहसपत्र तयार गर्नेदेखि नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गरिनेलगायतका कार्यक्रम समेटिएका छन् ।
त्यस्तै, ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि नियन्त्रण गर्ने, सीमा नाकामा अनुहार पहिचान प्रणाली स्थापना गरिने, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिने नीति तथा कार्यक्रममा समावेश छ । साथै, सशस्त्र प्रहरी बल नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधारसहित विशिष्टकृत सुरक्षा बलका रूपमा विकास गरिने सरकारको सङ्कल्प छ ।
यस्तै, सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक–सुरक्षा सम्बन्ध सुदृढ बनाइने र सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने उल्लेख गरिएको छ । बृहत् राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षासम्बन्धी नीति तथा कानुनको व्यावसायिक परिमार्जन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी, सरकारले सुरक्षा क्षेत्रमा हुँदै आइरहेको बाह्य निर्भरता कम गर्ने सङ्कल्प लिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा नेपाली सेनालगायत सुरक्षा निकायको बन्दोवस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
