काठमाडौँ । फागुन २१ को निर्वाचनमा मत माग्ने क्रममा नेताहरु मतदाता घरदैलो कार्यक्रममा लागे । काठमाडौँको मेयरबाट राजीनामा दिएर एमाले अध्यक्ष केपी ओलीसँग भिड्न बालेन साह झापा ५ पुगेका थिए । मत माग्न बालेन त्यहाँका सुकुम्बासी बस्तीमा पुगेका थिए । काठमाडौँमा बालेनले सुकुम्बासी बस्ती हटाउने प्रयासकाबारेमा झापाको कमल गाउँपालिकाका सुकुम्बासी जानकार थिए । उनीहरुको आशंका थियो, कतै बालेनलाई जिताएर पठाए यहाँ पनि यस्तै हालत पार्ने त होइनन् ? सुकुम्बासीले बालेनलाई यही प्रश्न गरे । तर बालेनले काठमाडौँको खोला किनारमा बस्ने सुकुम्बासी वर्षायाममा बाढीको उच्च जोखिममा रहने भएकाले उनीहरूलाई विस्थापन नभई सुरक्षित स्थानमा व्यवस्थापन गर्न खोजिएको जिकिर गरे । उनले यसबारेमा गलत भाष्य निर्माण गरेर जनतामा भ्रम फैलाइएको पनि बताए । यति भनेपछि सुकुम्बासीहरु मख्ख परे । भोट बालेनलाई नै दिए र उनले भारी मतान्तरले केपी ओलीलाई हराए । चुनाव जितेर बालेन अहिले प्रधानमन्त्री बनेका छन् ।
चुनावमा भोट माग्ने क्रममा रास्वपा सभापति पनि विभिन्न जिल्लाका सुकुम्बासी बस्ती पुगेका थिए । रविले त सुकुम्बासी बस्तीमा डोजर चले सबैभन्दा पहिला आफू छाती थाप्न आउने आश्वासन दिएका थिए । उनले भनेका थिए, ‘यदि सुकुम्बासी बस्तीमा डोजर चल्यो भने सबैभन्दा पहिला म छाती थाप्न आउनेछु । डोजर गरिबको झुपडीमा होइन, भ्रष्टाचारीको महलमा चल्नेछ ।’
यसरी सुकुम्बासी बस्तीमा पुगेर यस्तो वाचा गरेको पार्टीले निर्वाचनमा झण्डै दुई तिहाई बहुमत ल्याएर सरकार बनाएको छ । तर सरकार गठनको एक महिना नपुग्दै सरकार सुकुम्बासीप्रति निर्ममरुपमा प्रस्तुत भएको छ । काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्ती त हटाइसकिएको छ भने जिल्ला जिल्लामा यो अभियान चलिरहेको छ । यतिसम्मकी सर्वोच्च अदालतले सुकुम्बासी बस्तीमा तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेपछि पनि जिल्ला जिल्लामा डोजर चलिरहेको अवस्था छ । दुई तीन दिनको समय दिए डोजर पुगेपछि सुकुम्बासीको बिचल्ली भएको छ । यतिसम्म भयो कि जेनजी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन जल्दा चुप लागेर बसेको सेना समेत काठमाडौँका सुकुम्बासी बस्ती हटाउँदा परिचालन भएको देखियो ।
काठमाडौँका सुकुम्बासी बस्तीका मानिसलाई विभिन्न स्थानमा होल्डिङ सेन्टरमा राखिएको छ । तर होल्डिङ सेन्टरमा राख्दा उनीहरुको पढाइ, काम गर्न जाने ठाउँ टाढा हुँदा समस्या परिरहेको गुनासो उनीहरुले गरेका छन् । निर्वाचनमा यस्तो वाचा गरेका नेताहरुले नै आफ्नो बस्तीमा डोजर चलाएपछि निर्वाचनअघि घण्टी बजाएर स्वागत गर्ने उनीहरु अहिले भने थाल ठटाएर सरकारको विरोधमा उत्रिएका छन् । भोट माग्न जाँदा डोजर चलाए छाती थाप्न आउँछु भनेका रवि न सुकुम्बासी बस्तीमा पुगे न त डोजर रोक्न नै । बल्खुको फलफूल मण्डीमा काम गर्ने र बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएका ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या नै गरे । राई बस्तीमा डोजर लगाएपछि विरक्तिएर हिँडेका थिए ।
आइतबार पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा पनि रविले यो प्रसंग उठाए । त्यहाँ पनि उनले खोला किनारमा दुर्गन्धमा बसेका नागरिकलाई व्यवस्थित गर्न यो कदम चलाएको प्रष्टीकरण दिए ।रविले यस्तो प्रष्टीकरण दिइरहँदा बाँकेको सुकुम्बासी बस्तीको एउटा दृष्य सामाजिक संजालमा भइरल भइरहेको छ । बाँकेको कोहलपुर नगरपालिका– ११ शान्तिनगरमा डोजरले घर भत्काउँदा घाइते एक आमा र रूँदै गरेका छोराछोरीको दृष्य दर्दनाक नै छ ।
सुकुम्बासी समस्या समाधान गर्नुपर्छ, त्यसमा सायदै कसैको विमति नहोला । तर वर्षौँदेखि यसरी बस्दै आएका उनीहरुलाई केही समय दिएर लगत संकलन गरी व्यस्थित तरिकाले हटाएको भए के बिग्रन्थ्यो ? न बालेनले कमल गाउँपालिकाका सुकुम्बासीलाई भने जस्तो व्यवहार गरे न रवि लामिछाने छाती थाप्न आए । डोजर त इन्द्रबहादुरहरुका छातीमा चल्यो । अनि बाँकेको कोहलपुरमा ढलेकी ती महिलाको छातीमा । सुकुम्बासीलाई त रवि र बालेनले थाङनामै सुताइदिए ।
अब आयो गर्धनको पालो । न्याय परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको थियो । संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि बसेको संवैधानिक परिषदको बैठकले ४ नम्बरका डा. मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेपछि यतिबेला यो विषयका पक्ष र विपक्षमा बहस भइरहेको छ । प्रकाशमान सिंह राउतको अवकासपछि कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले पाएकी थिइन् । वरिष्ठतामा उनी पहिलो नम्बरमा थिइन् । तर आफूलाई सिफारिस नगरी चार नम्बरलाई सिफारिस गरेपछि उनले कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा सरकारको निर्णयको प्रतिवाद गरेकी थिइन् । उनले लडाइँ लड्न अझै बाँकी रहेको र दुई तिहाईको दम्भ अहंकार अनि महाभियोगको डर नमानी न्याय सम्पादन गर्न न्यायाधीशहरुलाई आग्रह गरेकी थिइन् ।
तर आइतबार पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा रविले कामु प्रधानन्यायाधीशलाई चेतावनीयुक्त जवाफ दिए । उनले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिस संविधानसम्मत रहेको जिकिर गर्दैै यस्ता अभिव्यक्ति सडकको विषय नबनाउन आग्रह गरे । उनले आफ्नो गर्धन अहिले पनि अदालतमै रहेकाले रिस उठेको भए चलाउन चुनौती दिए । उनले भने, ‘मेरो कुरा गर्नुहुन्छ भने मेरो त गर्धन अहिले पनि त्यहीँ छ । त्यस्तो रिस उठेको छ भने चलाइदिनुस् हतियार । बुझाएर आएको छु आफ्नो गर्धन । होइन भने न्यायालयको गरिमा, प्रतिष्ठालाई सडकको विषय बनाउनु हुँदैन ।’ रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा संशोधन सर्वोच्चमा विचाराधीन छ ।
रविहरु चाहन्छन् कि चार नम्बरको न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएपछि तीन जनाले राजीनामा दिउन् । किनकी उनीहरुले राजीनामा नदिएर निरन्तर काम गरेमा उनका लागि यो निर्णय भारी पर्नसक्छ । त्यसैले रविले कामु प्रधानन्यायाधीशलाई चेतावनीयुक्त जवाफ दिएका होलान् ।
हुन त रविले सम्बोधनका क्रममा सरकारले जे निर्णय गर्छ प्रधानमन्त्री र आफूबीचको सल्लाहबाट भएको बताए । तर कतिपयले डोजर आतंक रविको चाहना विपरीत र प्रधानन्यायाधीश सिफारिस पनि रविको चाहना विपरीत भन्ने गरेका छन् । किनकी प्रधानमन्त्री कतै बोल्दैनन्, अनि रवि सरकारको निर्णयको प्रतिरक्षा गर्दै हिँडनु परेको छ । गर्धनको प्रसंग रविले त्यतिकै उठाएका पक्कै होइनन् । न्यायालयलाई चिढ्याएमा आफैँतिर ठोकिन्छ भन्नेमा उनी जानकार छन् ।
पत्रकार विराट अनुपम सामाजिक संजालमा लेख्छन्, ’जनता भड्काउने बालेन्द्र । उत्तर दिन बाध्य रवि । यत्ति चैं भन्छु– रवि प्रधानमन्त्री वा गृहमन्त्री थे भने राज्यको दादागिरी गरेर गरिबको छानो भत्काउन पहिलो महिनामा जाँदैनथे । छाती थाप्छुलाई ट्रोल रविको मर्मले होइन बालेन्द्रको कर्मले भएको हो ।’
अनि सामाजिक संजालमा रविको भनाई र काम गराईमा मेल नखाएको भन्दै यसरी टिप्पणी गर्न थालिएको छ, ‘छाती सुकुम्बासी बस्तीमा तेस्र्याएको छ, गर्धन सर्वोच्चमा पुगेर थापेको छ । मानव शरीर हो कि सतिदेवीको अंग यार ?’
