नेताको भीडबाट शिक्षितले बाटोमा टायर जलाउँथे, तर सिंहदरबार र सर्वोच्चमा आगो झोसेनन् नि !

-नारायण पौडेल

प्रिय प्रधानमन्त्री बालेन, तपाईँले राजनीतिक ज्ञान नेताको भीडबाट होइन, गुरुबाट सिक्ने हो भन्ने ज्ञान बाँड्नुभएछ । यति महत्वपूर्ण ज्ञान कुनै विश्वविद्यालयको गुरुले नदिनु तर स्वंय नेताबाटै प्रकट हुनु ज्ञान स्वंयका लागि व्यंग्यवाँण भएन र ? तपाईंप्रदत्त ज्ञानमा सहमति जनाउँदै ठूलो जमातले हो हो भन्दै मुण्टो हल्लाइसकेको छ । अर्थात् तपाईँ उभिएको लेनबाट ज्ञानको लेन शुरु हुने बेला छ । यसर्थ बालेन, तपाईँ गुरु हो ।

गुरु कुनै अमुक चक डष्टर बोकेको पात्र हुनुपर्छ भन्ने भएन । कहिलै स्कुल नगएको पात्रपनि गुरु हुनसक्छ । स्कुलै नदेखेको व्यक्तिपनि नेता हुन सक्छ । राउटेको राजाले स्कुल कहाँ देखेको छ र ! मैले जीवनमा स्वाभिमान र निष्ठाको मूल्य मेरा छिमेकी एंवम् मावली घरमा कुनैबेला कमैया रहेका स्वर्गबासी लौटन थारुबाट सबैभन्दा ज्यादा सिकेको छु । लौटन थारुले कहिलै औपचारिक पढाइ गर्न पाएनन् । उनले सित्तैमा सायदै कसैको केही खाए, सायदै कसैसँग स्वार्थ राखेर सौदावाजी गरे ।

बालेन गुरुले गुरुबाट राजनीति सिक्ने भन्नुभयो तर को गुरु भन्नुभएन । विद्यार्थी संगठन खारेजीको प्रसङ्गको सन्दर्भ भएका कारण विश्वविद्यालयका गुरु भन्नुभएको होला भन्ने अनुमान गर्न सकिन्छ । गुरु नै अधिकांश राजनीतिक पार्टीका भित्रिया भएको सन्दर्भमा चोखो गुरु खोज्न कहाँ जाने होला ? तपाईँले तै भारतीय विश्वविद्यालयसम्म जानुभयो, एम्वेसीबाट लिडरसिप ट्रेनिङ लिनुभयो होला । विदेशी विश्वविद्यालय वा दूतावाससम्म पहुँच नभएका विद्यार्थीले कसबाट राजनीतिक दिक्षा लिने होला ? स्वदेशी विश्वविद्यालयमा भएका गुरु सबै राजनीतिक भर्ती भन्ने भाष्य निर्माण भएकै छ ।

बालेन गुरु, तपाईँ आफैँले पनि विद्यार्थी संगठनमा रहेर प्रचण्डका शिष्यबाट राजनीतिक दिक्षा लिएको बताइन्छ । प्रचण्डले १० वर्ष सशस्त्र द्वन्दमा सत्ता कब्जालाई एक सूत्रीय मन्त्र बनाउनुभयो । शान्ति प्रक्रियामा आएपछि पनि सो मन्त्र जपिरहनुभयो । सत्तकब्जा कै खातिर सेनापतिलाई बर्खास्त गर्नुभयो । तर, सक्नुभएन । गुणभन्दा चिनी गुलियो भनेझैं तपाईँले सेनापतिलाई चिढ्याएर होइन, सेनापतिलाई मिलाएर सो काम फत्ते गर्न लागेको देखिन्छ । नेपालको इतिहासमा सैन्य नेतृत्वको पूर्ववत पृष्ठपोषणमा कोही प्रधानमन्त्री भएको सम्भवतः तपाईं पहिलो हो । प्रचण्ड १० बर्ष भूमिगत युद्धको नेतृत्व गरेर शान्ति प्रक्रियामार्फत प्रधानमन्त्री हुनुभयो । तपाईँ आन्दोलनको भूमिगत नेतृत्व गरेर दुई दिनमै सत्ताको केन्द्रीय पात्र बन्नुभयो ।

फरक यत्ति हो १० वर्षे युद्धमा पेट्रोल बम पड्के, दुई दिने आन्दोलनमा चाइल्ड बमको प्रयोग गरियो । विद्यार्थीलाई राजनीति गराउन हुन्न भन्ने तपाईँबाटै स्कुल ड्रेसमै विद्यार्थीलाई आन्दोलनमा सहभागी हुन आह्वान भएको होइन र ? आन्दोलनका नेतृत्वकर्ता भनिएकाहरुले निषेधित क्षेत्र नतोड्न आग्रह गर्दापनि भूमिगत नेतृत्वले विद्यार्थीलाई संसद भवनसम्म पुर्याएनमात्र, तोडफोड शुरु गर्यो । त्यसपछि केके भयो भनिरहनै परेन । त्यसअघि शिक्षकको आन्दोलनमा सडकका बोटबिरुवा नचिमोट्न हारगुहार गर्ने तपाईंले केटाकेटीको आन्दोलन हिंसात्मक बन्दासमेत मौनता साँध्नुभएको  होइन र ? अझ एककदम अघि बढेर बाहलवाला प्रधानमन्त्रीलाई आतंककारी करार गर्नु भएको होइन र ? गरिवको चमेली बोल्दिने कोही छैन भन्ने गीतमार्फत गरिवलाई आशा जगाउनुभएपनि तपाईंकै कारण दुई गरिवले निराश हुँदै देहत्याह गरेको सन्दर्भमा तपाईं क्रान्तिकारी कहाँ रहनु भयो र ?

बालेन गुरु, तपाईंले आफूसँग विज्ञको टिम रहेको बताइरहनु हुन्छ । मानिलिउँ सोही टिम नै तपाईंको गुरु हो । रास्वपामा तपाईंसँगै गएको टिम हेर्दा गुरु त कोही देखिन्नन् । सब शिष्य र अनुज छन् । अदृश्यमा रहेका तपाईँका गुरु को हुन् ? कृपया थाहा चाहियो ।

अदृश्य गुरुको सिलेवसमा पनि कैफियत भेटिएको छ । राजनीति थालेको केही बर्षमै प्रधानमन्त्री बन्न सक्ने गरि राजनीतिक दिक्षा दिलाउन सक्ने त्यस्ता गुरुका चेलाले दाइजोस्वरुप सुनैसुन लिएको भेटिएको छ । मध्यम परिवारको ससुरालीबाट मनग्य सुन संकलन गरेको देख्दा अलि अचम्म लागेको छ । बाटोको फूल चुँडिन्छ कि भनेर सुर्ता गर्ने शिक्षा लिएको चेलाले कोपिलारुपी बालबालिका रहेको छाप्रामा डोजर बर्साएको देख्दा अचम्म लागेको छ । आदर्श गुरुबाट दिक्षित चेलाले श्रीमतीको गाडी रोकिँदा सिंहदरवार जलाइदिने लिखित धम्की दिएको बिर्सु भन्यो, बिर्सन सक्दै त सकिँदैन । बस्तीका दृश्यले ४०० बर्ष अघि जोनाथन स्विफ्ट लिखित ‘अ मोडेस्ट प्रोपोजल’को झल्को दिन्छ । उनले प्रस्ताव गरेका थिए–सडक बालबालिका सारै बोझ भए, यिनलाई काटेर परिकार बनाम– गरिवपनि सकिने, शहरको भोक पनि मेटिने ।

नेताको भीडबाट शिक्षितले बाटोमा टायर जलाउँथे, जक्काजाम गर्थे, पठनपाठन ठप्प गर्थे, लाठी–खुकुरी चलाउँथे । तर, तिनले सिंहदरबार जलाएनन्, सर्वोच्चमा आगो झोसेनन्, मान्छे भित्र रहेकै बखत बाहिरबाट बिल्डिङमा आगो झोसेनन्। प्रहरीलाई आगो लगाएर पोली पोली मारेनन् । कुनै देश, व्यक्ति र पार्टीलाई एफ गाली दिएनन् । बरु सीमानाको छेउछाउ पुगेर लिपुलेक हाम्रो भनेर लल्कार्थे । देशै नरहने हो कि भन्ने स्थिति निर्माण हुने गरी तिनले कहिलै देश ठप्प बनाएनन्। तिनीहरुको आन्दोलन कमाण्ड बाहिर सायदै कहिलै गयो । नेताले जहिलै जसअपजस लियो । तपाईंका पूर्व नेता प्रचण्ड स्वंयले ५ हजारको जिम्मा लिए । बीपीले पञ्चायती अदालतसामू आन्दोलनको जिम्मेवारी लिए । तपाईंले भदौ २३/२४ को आन्दोलन र क्षतिको जिम्मेवारी कहिले लिने ? तपाईँले सो आन्दोलनको लाभ भने सतप्रतिशत लिने तर आन्दोलनका नेता रक्षा, मिराजहरु सडकमै रहने कुरा संगतिपूर्ण देखिदैन ।

बालेन गुरु, सिलेवसपनि अद्यावधिक कुरा हो । कतिलाई लागेको होला हिंसा बिना ओली–राज हट्दैनथ्यो । त्यो आफैंप्रतिको अविश्वास हो । तमिलनाडुमा हिंसा नगरी भर्खरै मात्र सत्ता फेरिएको छ । यसर्थ राजनीतिको यस्तो सिलेवस चाहिएको छ जसले सैन्य नेतृत्वलाई राजनीति उन्मुख नगराओस् । जङ्गी अड्डालाई राजनीतिक सौदाबाजीको थलो नबनाओस् । गरिवको गीत गाउँदै गरिवी हटाउन गरिव नउठाओस् । यस्तो राजनीति जहाँ देश नजली, केटाकेटीको चिलविल नपारी खराव नेतृत्व परिवर्तन गर्न सकियोस् । यस्तो राजनीति निरन्तरको अभ्यास र निष्ठाबाट प्राप्त होला वा गुरुकूलबाट ? गुरुकुलबाट हो भने जेन अल्फाका भतिजाभतिजीलाई त्यहीं भर्ना गराउला । कृपया थाहा चाहियो । लौन बालेन गुरु !

(गुरु, छोटी मुख बडी बात नठान्नुः एउटा कुरा सुटुक्क भन्छु– सबका सब आफन्त ईष्ट मित्रले तपाईंबाट ठूलो आशा गरेका छन् । कता कता तपाईंको तौरतरिका सय मिटरको धावकको जस्तो देखिएको छ, कृपया म्याराथनको धावक बन्नुहोला । जैया आया वैसा गया नहोस्, मान्छेहरु बहुत छिटो स्विङ हुन्छन् । बाबुराम र केपीको लोकप्रियता अस्तिसम्म कम्ता थिएन )

Leave a Reply

Your email address will not be published. Required fields are marked *