-नारायण पौडेल ।
बालेन बोलेनन् भनेर एकथरि आलोचना गरिरहेका छन् । मलाईं चाहिँ बालेन नबोल्दा बालेन र देश दुबैलाई फाइदै भइरहे जस्तो लाग्छ । भन्नुपर्ने कुरा बालेनले नबोलेरै व्यक्त गरिरहेका छन् । चार्ली चाप्लिङले एक शब्द नबोलि संसार हसाउन सक्थे, बालेनले पनि देश हाक्न सक्छन्, हेर्दै गरौं।
चुनाव ताका बालेन, केपी ओली र गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै बहसका लागि आह्वान गरियो । बालेनले चलाखी गरे । सहभागी भएनन् । बर्षौं बोलेरै राजनीति गरेका ओली–थापासँग बोल्ने कुरामा बालेन जानी जानी भिड्न किन जानु ? बालेनलाई बहसमा बोलाउन कम्मर कसेको तप्काले बहस गर्न तीन पार्टीका अध्यक्षलाई निम्ताएको कहिलै सुनिएन । बोलेरै विश्व रेकर्ड राखेका रवि र गगन–केपीको बहस कस्तो गज्जब हुन्थ्यो होला । गगन र रविले आमनेसामने भएर गर्ने आरोप र प्रष्टिकरण कति तिख्खर हुन्थ्यो होला । यो रोचक बहसका लागि किन बहस छेडिएन, जबकी नेपालको संसदीय निर्वाचन पार्टीले लड्ने हो । पार्टी प्रमुखसँग नै राजनीतिक प्राधिकार हुन्छ ।
बोलीको भारी बोक्न नचाहिरहेको जस्तो देखिएका बालेनले नबोलि नबोलि धेरै कुरा भनिरहेकै छन् । उनले सिलाम सिक्का लगाएर, उपसभामुख श्रम संस्कृति पार्टीलाई दिएर गजबको राजनीतिक सन्देश दिएका छन् । भोलिका दिनमा बालेन–हर्कको जोडी जमेमा नौलो हुनेछैन ।
दुर्गेश थापाले प्रियंका कार्कीलाई मोडल बनाएर म्युजिक भिडियो बनाए । भिडियोले रेकर्ड कायम गर्यो । चर्चित नायिका प्रियंका कार्कीको हट प्रस्तुति पनि भिडियो चल्नुको कारण मानियो । दुर्गेशलाई नयाँ प्रयोग गर्न मन लाग्यो । उनले दृष्यमा नरहेकी गुराँस नानीलाई लिएर भिडियो चलाए । दुर्गेशलाई देखाउनु थियो– दुर्गेश नाम होइन, ब्राण्ड । बालेन ब्राण्डिङ यस्तो छ कि जहाँ पार्टीको खास अर्थ रहन्न ।
बालेन नबोल्दा देशलाई राम्रै भएको छ । कार्यकारी प्रमुखका रुपमा उनले देश बुझ्न मेहनत गरिरहेकै देखिन्छन् । परिपक्व बुझाइ पछि उनको परिपक्व बोली सुन्न पाइने नै छ । विगतमा उनले दिएका धेरैजसो अभिव्यक्ति देशलाई पछि सम्म बिझ्ने खालका छन् ।
सर्वाधिक चर्चामा रहेको जनकपुर भाषणमा उनले–काठमाडौं पशुपति घुम्न मात्र जाने हो भने । अर्थात् काठमाडौंसँगको सम्बन्ध सांस्कृतिक मात्र हो । काठमाडौंसँग सास्कृतिक सम्बन्धमात्र हुनु भनेको प्रदेशहरु स्वायत्त हुनु हो । मेयर हुँदा प्रदेशतर्फको मतदान बहिष्कार गरेका बालेन संसदीय निर्वाचनमा पुग्दा स्वायत्त प्रदेशसम्म स्विङ हुनु स्वभाविक होइन । काठमाडौंसँग देशका अरु ठाउँको सम्बन्ध पर्यटकीयमात्र हुँदै होइन । बालेनले निम्टिसकेको स्वायत्ताको मुद्धालाई सबैले बुझ्ने गरी ब्यूँताइदिएका छन् ।
अर्को उनको चर्चित भाषण हो– सुदूरपश्चिमको । जहाँ उनले भने–रुखमा बाँधेर हुन्छ कि, भुइँमा लडाएर हुन्छ–काम हुनुपर्यो । रुखमा बाँधेर गरिने न्याय–निशाफ माओवादी जनअदालतमा अभ्यास गरिएकै थियो । बालेनको उदय विधिको शासनका लागि अपेक्षित थियो ।
चितवन पुगेर बालेनले फेरि बिझाए । औंलामा गन्न सकिने नेपाली उद्योगले अन्तर्राष्ट्रिय पहुँच बनाएका छन् । त्यसमध्यको एउटा उद्योग हो– वाइवाइ । बालेनले वाइवाईलाई कांग्रेसी बनाइदिए । करेन्ट चाउचाउका मालिकले दिएको गाडी चढेर वाइवाइमाथि धावा बोल्न यतिविधि जनविश्वास भएका बालेनले कसरी सकेका ? बालेनको एउटै बोलिले संसद विघटन गराएको भएपनि वाइवाइ धन्न धराशायी भएन ।बालेन दुधे बालक झैं प्रिय छन् । बच्चाले कुटेपनि मज्जा, रिसाएनि मज्जा लिएजस्तै बालेनका सब रंग मन पराएका छौं । तर, उनी बसेको कुर्सी चाइल्ड सिट नभएर प्राइममिनिष्टरको हो । अब चाहिँ उनीबाट बोली फुट्दा देशलाई नबिझोस् ।
स्मृतिका लागि बालेनको एउटा बोली नछुटाउनु होलाः
‘भगवानलाई धन्यवाद, धन्न म नेपालका राजा होइन।
नत्र म नेपाली मिडियामाथि बम प्रहार गर्थें ।
उनीहरूको घाँटी काट्थें, बरफमा राख्थें, फेरि बाँच्न दिन्थें र दोस्रो पटक मार्थें—यही प्रक्रिया दोहोर्याइरहन्थें।’
