यही मन्त्रिपरिषदलाई प्रस्थान विन्दु बनाएर सम्पत्ति छानबिन सुरु गर्नुपर्छ

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ । सम्पत्ति विवरण सार्वजनिक भएपछि एउटा तरंग उत्पन्न भएको छ । पुराना नेताहरु सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य निर्माण गर्ने र हिजो नेप्पोबेबी अभियान चलाउनेहरुको सम्पत्ति विवरण देखेर तरंग उत्पन्न भएको छ । सम्पत्ति विवरणलाई लिएर पक्ष र विपक्षमा बहस भइरहेका छन् । रास्वपाका नेता कार्यकर्ता र समर्थक प्रधानमन्त्री र मन्त्रीहरुको बचाउमा उत्रिएका छन् भने उनीहरुका विपक्षीहरु सम्पत्तिको श्रोत खुलाउनुपर्ने भन्दै बहसमा उत्रिएका छन् । मन्त्रिपरिषदका सदस्यहरुको जग्गा हदबन्दी भन्दाबढी, सयौँ तोला सुन कहाँबाट आयो भन्दै सामाजिक संजालमार्फत प्रश्नको वर्षा भइरहेको छ । तर रास्वपाका नेता कार्यकर्ता भने कमाएर राजनीतिमा आएका भन्दै प्रतिरक्षामा उत्रिएका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत खुलाउनुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिने हुँदा स्रोत खुलाउन माग गरेका हुन् । उनले भनेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रष्टाइदिनु पर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिमा पारदर्शिता नभएको बताएका छन् । प्रवक्ता श्रेष्ठले मन्त्रीहरु आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गरेको बताएका हुन् । उनले धन कमाउन र धनी बन्न पाइने तर अकर तिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने बताए । उनले भनेका छन्, ‘बालेन सरकारका कतिपय मन्त्रीहरुका सम्पत्ति विवरणमा नगद, गरगहना, घरघडेरी, शेयर र अन्य लगानी औसत नेपालीको भन्दा धेरै माथि देखियो। रोचक त कतिपय मन्त्रीका हदबन्दी भन्दा बढी जग्गाको विवरण स्वयंबाट सार्वजनिक भएको छ । मन्त्रीहरु आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गरेको छ। धन कमाउन र धनी बन्न पाइन्छ तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस् ।’

एमाले नेता गोकुल बास्कोटाले सम्पत्ति विवरण सार्वजनिक भएपछि डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ भन्दै कटाक्ष गरेका छन् । उनले भनेका छन्, ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो । देश लंका बनिसकेछ, डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पहेँपुर तोरी फुलेछ । समृद्धि आएछ–सुशासन त्यहीँबाट आरम्भ भैहाल्छ । म झनै खुसी किन कि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे,त्यो दुर भएछ–झिक्कै झिक्कै मया तम्लाई !’

यस्ता कटाक्ष र प्रश्न सामाजिक संजालमा हजारौं वर्षिएका छन् । अनि प्रधानमन्त्री र मन्त्रीहरुले सुन लगाएर पहेँलपुर बनाएका तस्बिर त्यसैगरी भाइरल बनाइएको छ ।

तर रास्वपाका नेता कार्यकर्ता ती प्रश्न स्वीकार्न तयार छैनन् । रास्वपाका सांसद विपिन आचार्य राजनीतिमा ‘च्यातिएको चप्पल’ र ‘रित्तो खल्ती’ लाई मात्र इमान्दारीको प्रतीक मान्ने पाखण्ड अब बन्द गर्नुपर्ने बताउँछन् । उनको भनाई छ, ‘राजनीतिमा ‘च्यातिएको चप्पल’ र ‘रित्तो खल्ती’ लाई मात्र इमान्दारीको प्रतीक मान्ने पाखण्ड अब बन्द गरौँ। धनी हुनु कुनै पाप वा अपराध होइन। प्रश्न मान्छे कति धनी छ भन्ने होइन, बरु त्यो सम्पत्ति उद्यम र पसिनाले कमाएको हो कि भ्रष्टाचारले, अनि राज्यप्रति कति पारदर्शी छ भन्ने मात्र हो । देश सधैँ अभाव र आँसुको कथा बेचेर बन्दैन। एउटा बलियो र समृद्ध राष्ट्रको निर्माण ती मानिसहरूको जगमा पनि उभिन्छ, जसले समाजमा नयाँ गर्छन्, वैध रूपमा सम्पत्ति कमाउँछन् र पूर्ण जवाफदेही रहन्छन्। पारदर्शी समृद्धिको संस्कार नेपाली समाजले अब सिकाओस्।’

रास्वपाकी सांसद आशिका तामाङ पनि प्रधानमन्त्री मन्त्रीहरुको बचाउ गर्दै चप्पल पड्काउँदै सिंंहदरबार छिरेका अहिलेका सांसदहरू सबै आत्मनिर्भर भएको बताउँछिन् । उनले भनेकी छन्, ‘चप्पल पड्काउँदै सिंहदरबार छिरेका अहिलेका सांसदहरू होइनन्, राजनीतिमा आउनु अघि उहाँहरू सबैजना आफ्नो आफ्नो पेशामा हुनुहुन्थ्यो, र राजनीति मा एकदिन उहाँहरू जान्छु भन्ने लगभग कसैलाई पनि थाहा थिएन, पुरानाले काम नगरेका भएर उहाँहरू राजनीतिकमा आउनुपरेको! अहिलेका सबैजना सांसदहरू आत्मनिर्भर हुनुहुन्छ ।’

रास्वपाकी अर्की सांसद ज्वाला संग्रौला राजनीतिमा आएर कमाएका होइनन्, कमाएर राजनीतिमा आएका दाबी गर्छिन् ।

तर पत्रकार विराट अनुपमले रास्वपाका नेता कार्यकर्ता र समर्थकमा विगतकाबारेमा कुनै ज्ञान नभएको टिप्पणी गरेका छन् । उनको टिप्पणी छ, ‘एउटा सामान्य परिवारकी सबिना काफ्लेको त्यत्रो सुनलाई बालेन्द्रको जायज कमाइ मान्नेहरूले आरजु राणाको छोरी भएको र देशको टप एनजिओ चलाएको जान्दैनन् । एउटा मामुली सरकारी जागिरेको छोरा सस्मितको २३ करोडको सम्पत्तिमा प्रश्न नगर्नेहरूले राजनीतिमा आउनु अगाडि वैदेशिक रोजगार, कैयौँ सेयर तथा जग्गा कारोबारबाट अर्बपति भएका दीपक खड्काको पैसामा आपत्ति जनाए । सुदनको त्यत्रो सुनलाई सामान्य मान्नेहरूले ओली पत्नी देशको सरकारी बैंकको टप हाकिम भएको कुरा बिर्से । घण्टे युग छ—हत्या गरे पनि दुर्घटना हुन्छ, अकूत कमाइ देखिए पनि पुर्खौली हुन्छ। भिलेन सबै पुराना दल…… तिम्रा पेड कन्टेन्ट क्रिएटर र आम जनतालाई उल्लु बनाउने सोसल इन्जिनियरिङको पनि आयु हुन्छ !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *