एजेन्सी । फरवार्डद्वय मीना देउवा र रेखा पौडेल चम्किदा झापा महिला गोल्डकपमा नेपाल पुलिस क्लबले विजयी शुरूवात गरेको छ । सोमबार दिउँसो भएको उद्धाटन खेलमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ८-० गोलले पराजित गरेको हो ।
झापाको दुधे रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन मीना देउवाले पाँच गोल गर्दा रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । मीनाले खेलको दोस्रो हाफको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गर्दा रेखाले ३७ औँ, ८० औँ र इन्जुरी समयमा गोल गरेकी हुन् ।
जितसँगै पुलिस सेमिफाइनलमा पुगेको छ । अब पुलिसले सेमिफाइनल खेलमा संकटा एफसी र झापा एफसीबीच हुने खेलको विजेतासँग खेल्नेछ । भोली हुने खेलमा नेपाल एपीएफ क्लब र सिङ्लिङ एस सी सिक्किम भिड्नेछन् ।
