वेस्ट इन्डिजका शेर्फान रुथरफोर्ड सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेर्फान रुथरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले शनिबार बिहान सामाजिक सञ्जालमार्फत रुथरफोर्डलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

बायाँहाते ब्याटर रुथरफोर्ड टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने उनी ठूला सट खेल्न र तीव्र गतिमा रन बनाउन माहिर छन् । उनको आगमनले सुदूरपश्चिम रोयल्सको ब्याटिङ थप मजबुत हुने अपेक्षा गरिएको छ ।

२८ वर्षीय रुथरफोर्डले वेस्ट इन्डिजका लागि सन् २०१८ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि डेब्यु गरेका थिए ।

रुथरफोर्डले ६१ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार १२३ रन बनाएका छन् । यसक्रममा उनको ब्याटिङ औसत २८.०८ र स्ट्राइक रेट १५४.२६ रहेको छ । उनले टी–२० अन्तर्राष्ट्रियमा आठ अर्धशतक बनाएका छन् । उनको उच्चतम व्यक्तिगत स्कोर ८४ रन हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ३१ खेल खेल्दै ८७३ रन बनाएका छन् । यसक्रममा उनले एक शतक र आठ अर्धशतक प्रहार गरेका छन् । उनको उच्चतम स्कोर ११३ रन रहेको छ ।

आईपीएलमा पनि अनुभव
रुथरफोर्डले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । आईपीएलका ३१ खेलमा उनले ५२० रन बनाएका छन् । उनको उच्चतम स्कोर अविजित ७१ रन हो भने स्ट्राइक रेट १४२.८६ रहेको छ ।

उनले विश्वका विभिन्न फ्रेन्चाइज प्रतियोगितामा समेत खेलेका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र अन्य टी–२० प्रतियोगिताको अनुभवले उनलाई प्रभावशाली मध्यक्रमका ब्याटरका रूपमा स्थापित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *