प्रधानमन्त्रीले राष्ट्रपतिभन्दा पनि अलग र ‘माथि’ अर्को कुनै ‘ब्रिफिङ’ गर्ने निकाय छ ?

काठमाडौँ । प्रधानमन्त्री बालेन साह दुई दिने भारत भ्रमणमा छन् । आइतबार नयाँदिल्ली प्रस्थान गरेका प्रधानमन्त्री आज साँझ भ्रमण सकेर स्वदेश फर्किँदैछन् । जेनजी विद्रोहपछिको निर्वाचनबाट आएका ३५ वर्षे युवा प्रधानमन्त्रीको भारत भ्रमणप्रति सबैको चासो हुनु स्वाभाविकै हो । प्रधानमन्त्री विमानस्थल पुग्दा त्यहाँ विगतको जस्तो न मन्त्रीहरुको लावालस्कर थियो न त सेनाको सलामी नै । त्यस्तै न रातोकार्पेट नै थियो । उनलाई विमानस्थलमा पार्टी प्रवक्ता जगदीश खरेल, उर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङले बिदाइ गरे । त्यस्तै प्रधानमन्त्रीले भ्रमण टोलीमा आफ्नी पत्नी समेत लगेनन् । विगतमा पत्नी हुनेले पत्नी र नहुनेले छोराछोरी लैजाने गरेका थिए । त्यसैले पनि प्रधानमन्त्रीको भ्रमण फरक छ । यसलाई संचारमाध्यमहरुले प्रधानमन्त्रीका क्रमभंगता भन्दै व्याख्या र विश्लेषण गरेका छन् । त्यतिमात्र होइन विगतमा प्रधानमन्त्रीले विदेश भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री र परराष्ट्र मामिलाका विज्ञहरुसँग समेत सुझाव लिने गरेका थिए । तर यसपटक प्रधानमन्त्री बालेनले कसैसँग सल्लाह सुझाव लिएनन् । अरुसँग सल्लाह सुझाव नलिनु त स्वाभाविकै होला । तर प्रधानमन्त्रीले राष्ट्रप्रमुख राष्ट्रपतिलाई समेत आफ्नो भ्रमणबारे जानकारी गराएनन् । विगतमा सदन संचालन भइरहेका बेला भए सदनलाई र राष्ट्रपतिलाई जानकारी गराउने प्रचलन थियो । तर प्रधानमन्त्रीले यसपटक त्यसलाई पनि बेवास्ता गरिदिए । दलहरुले आफूहरुसँग सल्लाह नगरेको गुनासो गरेपनि देशको प्रधानमन्त्री भारत भ्रमणमा जान लागेको भन्दै सबैले सफलताको शुभकामना दिएका छन् ।

तर प्रधानमन्त्रीले राष्ट्रपतिलाई ‘इग्नोर’ गरे ? त्यसमा भने धेरैले चासो राखेका छन् । हुन त प्रधानमन्त्रीले सातामा एकदिन राष्ट्रपतिलाई भेटेर देशमा भइरहेका कामकारबाहीबारे ब्रिफिङ गर्ने प्रचलन रहेकोमा त्यसलाई बेवास्ता गर्दै आएका छन् । त्यसकारणले पनि अहिले राष्ट्रपतिलाई बेवास्ता गर्नु अस्वाभाविक त होइन ।

गत साउनमा सुनसरीको देवानगंज घटनाका कारण तराईमा आन्दोलन फैलिँदै गएको थियो । तर प्रधानमन्त्रीले घटनालाई साम्य पार्न कुनै सम्बोधन गरेनन् । प्रधानमन्त्री कार्यालयका सचिवलाई विज्ञप्ति निकाल्न लगाएर बसिरहेका थिए । आन्दोलन सुनसनीबाट फैलिएर सिरहा, सप्तरी, धनुषामासमेत फैलिएर थप मानवीय क्षति भएपछि बल्ल प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गरे । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते प्रधानमन्त्रीलाई शीतलनिवासमा बोलाएर प्रश्न गरे, ‘तराई–मधेशमा आगो बलिरहेको छ, सरकारले के गरिरहेको छ?’ सुरुमा प्रधानमन्त्री अलमलमा परे । अनि जवाफ फर्काए– ‘मैले भर्खर राष्ट्रका नाममा सम्बोधन गरेँ, गृहमन्त्रीलाई पूर्व पठाएको छु राष्ट्रपतिज्यू।’
राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिए । सायद त्यतिबेला सरकार आन्दोलन उग्रभएर हायलकायल नभएको भए प्रधानमन्त्री शीतल निवास जाने थिएनन् । तर अहिले प्रधानमन्त्रीले त्यो कुरा बिर्सिर प्रधानमन्त्री आफ्नो भारत भ्रंमणकाबारेमा राष्ट्रपतिलाई ब्रिफिङ गर्न गएनन् ।

भारत भ्रमणबारे प्रधानमन्त्री राष्ट्रपतिलाई ब्रिफिङ गर्न नगएको भन्दै धेरैले प्रश्न उठाएका छन् । राप्रपाकी सांसद खुश्बु ओलीले राष्ट्रप्रमुखको संवैधानिक संस्थालाई समेत उचित सम्मान र मर्यादा दिन नसक्ने कस्तो व्यवस्था, र कस्तो संस्थागत संरचना गणतन्त्रले निर्माण गरेछ त ? भन्दै प्रश्न गरेकी छन् । उनले प्रधानमन्त्रीको यस व्यवहारबाट राजसंस्थाको औचित्य सही भएको बताएकी छन् । उनले भनेकी छन्, ‘प्रधानमन्त्री बालेन साहज्यूलाई विशेष धन्यवाद ! राजसंस्थाको औचित्यमाथि हामीले वर्षौंदेखि उठाउँदै आएको प्रश्नलाई यहाँले आफ्नै व्यवहारबाट पुनः बहसको केन्द्रमा ल्याइदिनुभएकोमा । विदेश जानु अगाडि प्रधानमन्त्रीले राष्ट्रप्रमुखलाई भेट्ने संविधानमा निहित रहेको परम्परालाई तोड्नुभएको छ । राष्ट्रप्रमुखको संवैधानिक संस्थालाई समेत उचित सम्मान र मर्यादा दिन नसक्ने कस्तो व्यवस्था, र कस्तो संस्थागत संरचना गणतन्त्रले निर्माण गरेछ त ? आज राष्ट्रमा राजा भएको भए प्रधानमन्त्रीले राष्ट्रप्रमुखको गरिमा बेवास्ता गर्दै यसरी अघि बढ्न सक्नुहुन्थ्यो होला त ? त्यसैले हामीले भन्यौँ, देशलाई शक्तिशाली प्रधानमन्त्री मात्र होइन, राज्यका सबै संस्थालाई मर्यादामा राख्ने अभिभावकीय राजसंस्था पनि चाहिन्छ। प्रधानमन्त्रीज्यू, हाम्रो बहसलाई थप सान्दर्भिक बनाइदिनुभएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छौँ।’

त्यस्तै एमाले नेता विष्णु रिजालले भ्रमणअघि दलहरुसँग प्रधानमन्त्रीले परामर्श नगरेको भन्दै प्रश्न गरेका छन्, ‘देशभित्र संसदमा रहेका दलहरुसँग समेत कुनै परामर्श नगरी भारतसँग एकल र छुट्टै के गर्न लाग्नुभएको हो ?’त्यस्तै रिजालले अर्को प्रश्न पनि गरेका छन्, ‘आवश्यक भेटघाट, छलफल र अन्तरक्रिया गर्न नसक्ने, दोहोरो सम्वाद गर्न नसक्ने प्रधानमन्त्रीज्यूको कुनै व्यक्तिगत समस्या हो कि नेपाल सरकारको नीति नै हो ?’

यता राजनीतिक विश्लेषक मुमाराम खनालले भने प्रधानमन्त्रीको व्यवहार सामान्य विषय नभएको टिप्पणी गरेका छन् । उनले त यो कार्यकारी प्रमुखद्वारा नै मुलुकको संस्थागत अराजकतालाई अनुमोदन गरेको बताएका छन् । उनको टिप्पणी छ, ‘अविछिन्न परम्परामा रहेको भूपू प्रधानमन्त्रीहरूसँग गरिने परामर्श नगर्नु त सामान्य नै मानिएला । तर राष्ट्रपतिसँग पनि राजकीय विदेश भ्रमणको कुनै पनि ‘ब्रिफिङ’ नगर्नु भनेको कार्यकारी प्रमुखद्वारा नै मुलुकको संस्थागत अराजकतालाई अनुमोदन गर्नु हो । प्रधानमन्त्रीको राष्ट्रपतिभन्दा पनि अलग र ‘माथि’ अर्को कुनै ‘ब्रिफिङ’ गर्ने निकाय छ भने थाहा भएन । तर यस्तो संस्थागत अहंकार (ब्चचयनबलत)ले मुलुकलाई हित गर्दैन।’

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए । त्यसबेला रविले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गर्नु भनेन् कि प्रधानमन्त्रीले मानेनन् होला ? त्यो उनीहरु आफैँ जानुन् ।

तर केही दिनअघि चितवन जाँदा रविले भनेका थिए, ‘जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ हामी, हो कि होइन ? यसरी हुँदैन, यसरी हुँदैन ! माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ । त्यसकारणले हामीले भुइँ टेक्नपर्छ, भुइँ छोड्नु हुँदैन साथी हो, कुनै हालतमा पनि भुइँ छोड्नु हुँदैन ! हामी यहीँका मान्छे हौं, यही जमिनका मान्छे हौं। यसलाई हामीले भुल्नु हुँदैन। जनताले हामीलाई हेरिरहेका छन्, ती जनतालाई असहज लाग्ने हाम्रा गतिविधिहरू स्वीकार्य हुँदैनन्। किनभने जनताले अत्यधिक मत दिएर पठाएको भनेको हामीलाई ठालु पल्टाउनका लागि होइन, अझ बढी सेवा गर भन्नका लागि हो। यो कुरा तपाईंहरूले बुझ्न जरुरी छ।’ रविले भनेजस्तो राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गर्ने मामलामा पनि कतै यस्तै भएको त होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *