काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले अभियानको उद्घाटन गरेका छन् । कार्यक्रममा पार्टी संयोजक प्रचण्डले जनताका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने र पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताए ।
प्रचण्डले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै महँगी, बेरोजगारी, युवा पलायन र आर्थिक असुरक्षाले जनजीवन प्रभावित भएको बताएका छन्। दुईतिहाइको सरकारबाट जनताले अपेक्षाअनुसार परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको उनको भनाइ छ।
उनले अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र संविधानका उपलब्धिको रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन्।
अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोलसम्म पुगेर किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्नेछन्।
महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, सार्वजनिक सेवामा ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीका कठिनाइबारे तथ्य तथा अनुभव संकलन गरिने प्रचण्डले बताएका छन्।
जनताका गुनासा अभिलेख राख्ने, सम्बन्धित सरकारी निकायमा मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समस्या समाधानका लागि भएका प्रयासको प्रगतिबारे नागरिकलाई जानकारी दिने योजना रहेको उनले बताए ।
प्रचण्डले पार्टी जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी बन्दै गएको यथार्थ स्वीकार गर्दै विगतका गल्ती तथा कमजोरीको समीक्षा गरी पार्टीलाई रूपान्तरण गर्नुपर्ने बताएका छन्।
प्रचण्डले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता नागरिकको खोज र उद्धारमा देखिएको लापरबाहीप्रति गम्भीर आपत्ति जनाएका छन्।
विपद्का बेला नागरिकको जीवनरक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले उपलब्ध स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गर्न सरकारसँग माग गरेका छन्। आवश्यकताअनुसार मित्रराष्ट्रबाट प्राप्त हुन सक्ने प्राविधिक सहयोगसमेत समयमै उपयोग गर्नुपर्ने उनको भनाइ छ।
विपद् प्रभावितलाई तत्काल राहत, विस्थापित परिवारलाई सुरक्षित पुनःस्थापना तथा क्षतिग्रस्त सडक, पुल, खानेपानी, सञ्चार र विद्युत् संरचनाको शीघ्र पुनर्निर्माण गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रचण्डले आर्थिक असमानता र शोषण अन्त्य गर्दै शिक्षा, स्वास्थ्य तथा रोजगारीमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्न समाजवाद निर्माणको दिशामा अघि बढ्नुपर्ने बताए ।
राष्ट्रिय उत्पादन वृद्धि, कृषि तथा उद्योगको आधुनिकीकरण, रोजगारी सिर्जना, राष्ट्रिय पुँजीको विकास र स्रोतसाधनको न्यायपूर्ण वितरणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
राष्ट्रिय स्वाधीनता र समाजवाद निर्माण एकअर्कासँग जोडिएका विषय भएको उल्लेख गर्दै उनले आर्थिक परनिर्भरता घटाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन्।
अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम सम्पन्न गरिने पनि उनले जानकारी दिएका छन्।
प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको कुरा सुन्न, आलोचना स्वीकार गर्न र आफ्ना कमजोरी सच्याउन आग्रह गरेका छन्। जनताको विश्वास भाषणबाट नभई व्यवहार र कामबाट आर्जन गर्नुपर्ने उनको भनाइ छ।
उनले राष्ट्रिय हित र जनजीविकाका साझा सवालमा सहकार्य गर्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी र निजी क्षेत्रलाई आह्वान गर्दै देश–विदेशमा रहेका नेपालीलाई राष्ट्रिय जागरण अभियानमा सहभागी हुन अपील गरेका छन्।
