पुलिसलाई ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि

कर्णाली । नेपाल पुलिस क्लबले ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा भएको फाइनलमा एपीएफ क्लवलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपीएफले २५–२२ ले आफ्नो पक्षमा पारे पनि बाँकी तीन सेटमा पुलिस क्लव हावी भएको थियो । पुलिस २५–१९, २५–१८ र २५–२३ सेटमा जीत निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । आजै भएको तेस्रो स्थानको खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्यो ।

प्रतियोगितामा विजेता पुलिस क्लबका स्पाइकर रविन चन्द सर्वोत्कृष्ट खेलाडी र पहल गहतराज उदीयमान खेलाडी घोषित भए । पुलिसकै कप्तान इम राना सेटर, रविन नगरकोटी ब्लकर, भीम गाहा लिवेरो र चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक चुनिए ।

एपीएफका हेमन्त मल्ल स्पाइकर र गण्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिए । व्यक्तिगत उत्कृष्ट खेलाडीले ५–५ हजार रुपैयाँ हात पारे । प्रतियोगिताका विजेता टीम तथा खेलाडहरुलाई उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उपाधि, मेडल र नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरेका थिए । पुस २० मा सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *