हाम्रा छोराछोरीलाई इराक र इजरायल पठाउने पनि यही गणतन्त्र त हो नि !

मोहन लामा रुम्बा ।
नेपाली जनता ९० प्रतिशत कृषिमा निर्भरता भएको बेला राजा महेन्द्रले सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको संयुक्त लगानीमा वि.स २०२४ सालमा कृषि औजार कारखाना वीरगंजमा स्थापना गरेका थिए । यहाँबाट उत्पादित सामग्री नेपाली किसानले मात्रै होइन सिमावर्ती भारतको बिहार उत्तर प्रदेशको किसानहरुले समेत खरिद गरेर लैजाने गरेको थियो । चितवन जिल्लामा सबैभन्दा पहिला ३६२ बिघा जग्गा ओगटेर त्रिविको आङ्गिक ‘क’ श्रेणीको रामपुर कृषि क्याम्पस विसं २०२९ मा स्थापना गरेर नेपालमै सक्षम विद्यार्थीहरु उत्पादन गरेर प्राविधिक आत्मनिर्भरता बढाउँदै आइरहेको थियो ।

समयक्रममा नेपालमा ठूलठूला राजनीतिक परिवर्तन हुन थाल्यो, राजतन्त्र ओझेलमा पर्दै गयो प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र पनि आयो आउन पर्ने सबै आयो तर बिस्तारै नेपालको उद्योग कलकारखाना बन्द हुँदै गए । सोही क्रममा नेपालको एकमात्र ‘कृषि औजार कारखाना’ पनि बन्द हुन पुग्यो, अहिले भुत बंगला जस्तो खण्डहर भएर बसेको छ । यता राजा वीरेन्द्रको पालामा स्थापना गरेको रामपुरस्थित कृषि क्याम्पस पनि प्रजातन्त्र आएपछि कम्युनिष्ट र कांग्रेसको ठिटोहरुको खुँडा लौरो ढुंगामुढा हान्ने अखडा हुँदै गयो, अहिले क्याम्पसको सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई सरकारले दिने निर्णय गरेसँगै उक्त क्याम्पस विस्तापित भएर अहिले खैरहनी नगरपालिकामा चार कोठामै खुम्चिन पुगेको छ। उता कृषि क्याम्पसको त्यत्रो जग्गा पनि लथालिङ्ग अवस्थामा पुगेको छ कोही रंगशालालाई जग्गा बाँडेको छ कुनै जग्गा कुनै संस्थालाई दिएर कृषि क्याम्पसको इतिहास नै मेटिदै जाने क्रममा छ ।

आज कृषि संकायमा अध्यनरत नेपाली विद्यार्थीहरु द्वन्द्वग्रस्त इजरायलमा मृत्युवरण हुन पुगेको देख्दा सारा नेपालीको मन भक्कनेर आइरहेको छ । स्वदेशमा रहेकोे कलकारखाना शैक्षिक संस्था बन्द गराएर बाध्यताले विदेश पलायन हुँदै गइरहेको हाम्रा छोराछोरी दाजुभाइहरु कोही इराकमा गएर कोही इजरायलमा पुगेर मृत्युको शिकार हुन परेको छ हुँदैछ । हामी यस्तो दुःखद पीडादायी घडीमा निरीह भएर टुलुटुलु हेरेर बस्न विवस छौं । हामीसँग बोल्न गर्न केही नसक्ने लाचार अवस्थामा छौं । राज्य नै लाचार कंगाल भएपछि कसको के लाग्ने रहेछ र ?
इजरायलमा १० जना विद्यार्थीको लाश लडिरहेको छ, सारा नेपाली शोकाकुल अवस्थामा छ यस्तो दुःखद घडीमा एमाले नेता रघुजी पन्त संवेदनहीन भएर अट्टहास मार्दै भन्छन्– तिनीहरु रहरले गएका हुन् ! द्वन्द्वग्रस्त मुलुक हो भन्ने थाहा हुँदाहुँदै किन गएको ? भन्दै औंलो तेर्साएर बर्बराउदै छन् । यस्ता पीडादायी दुर्वाच्य बोल्नेलाई कुन शब्दले आलोचना गरौं ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *