चीन र अमेरिकाबाट सिकौँ

-नारायण गाउँले

सिक्ने यस्तै कुराबाट हो । चीन र अमेरिकाबीच ठूलो शत्रुता, प्रतिष्पर्धा र सङ्घर्ष छ । ताइवानदेखि इरान, भेनेजुएला, साउथ चाइना सी, स्ट्रेट अफ मलाका, पनामा क्यानलजस्ता भूराजनैतिक इस्यु र ‘ट्रेड र टेक्नोलोजी वार’सम्म चीन र अमेरिकाबीच जटिल र क्रोनिक मुद्दाहरू छन् । दुई देश अघोषित युद्धकै अवस्थामा छन् । एकले अर्कालाई चर्को गाली गर्यो भने खरो राष्ट्रवादी भइने र आमजनता ‘खुसी’ हुने खालको सम्बन्ध छ । तर पनि दुई देशबीच निरन्तर संवाद चल्छ । एकदम नजिकको र घनिष्ट मित्रबीच हुनेजस्तो राजकीय भ्रमणको आयोजना हुन्छ, भव्य स्वागत हुन्छ, भेटेर एकले अर्काको प्रसंशा गर्छन्, द्विपक्षीय सम्बन्ध र मुद्दामा प्रगति भएको सुनाउँछन् र संवादलाई अझ सघन बनाउने र संवादबाटै आपसी मुद्दा हल गर्ने दाबी गर्छन् ।

साना र सिद्धान्तको चर्को व्याख्या गर्ने धेरै देशचाहिँ आपसका असमानता, प्रतिष्पर्धा र मुद्दाहरूलाई उचालेर, रङ्गरोगन गरेर, पब्लिक डिबेटको विषय बनाएर र उग्र राष्ट्रवादको खोल ओढेर शत्रुतालाई थप मलजल गर्ने, स्थायी बनाउने, ठुस्स परेर बस्ने, पिठ्यूँ फर्काउने, कट्टी गर्ने र संवाद गर्नु भनेको लम्पसार पर्नु हो भन्ने भाष्य निर्माण गर्ने काम गर्छन् । जसले गर्दा न ठूला र क्रोनिक मुद्दाहरूको हल निस्किन्छ, न समसामयिक र सजिलै समाधान हुन सक्ने मुद्दामा फोकस हुन सकिन्छ । नबोल्नु, पन्छिनु या इग्नोर गर्नु नै ठूलो प्राप्तिजस्तो तिनलाई लाग्छ । तर कुनै पनि समस्या आफै त हल हुँदैन । अनि कुनै पनि समस्या एक दिनमा या आजको आजै पनि हल हुँदैन । पुस्तौँसम्मको पहल र मिहिनेत आवश्यक पर्न सक्छ । यी दुई देशले यो बुझेका छन् ।

ताइवानदेखि भूराजनीतिका धेरै मुद्दामा दुई देशबीच तत्काल निकास सम्भव छैन । तर असम्भव मुद्दाका आडमा अन्य ज्वलन्त मुद्दाहरू ओझेल नपरून् भन्नेमा दुबै सचेत छन् । मुख्यतः द्विपक्षीय व्यापार र एआईलगायतको प्राविधिक क्षेत्रमा सामान्य संवादले पनि ठूलो नतिजा दिन सक्ने दुबैलाई थाहा छ । आर्थिक मुद्दा अहिलेको सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो । प्रतिष्पर्धा र शत्रुता कायम राखेरै पनि आपसी हितका क्षेत्रमा सहकार्य गर्ने पहल हामी सबैका लागि उदाहरणीय बन्न सक्छ ।

नेपाल र भारतबीच पनि सीमा मुद्दा यस्तै क्रोनिक मुद्दा बनेको छ । त्यसको समाधान आवश्यक छ तर त्यसको छायाँमा व्यापार, जलविद्युत्, पारवहन र कनेक्टिभिटी एवं हवाइ रुटजस्ता ज्वलन्त विषय ओझेल पर्नु हुँदैन । हाम्रो ट्रेडदेखि पर्यटनसम्मको आर्थिक छलाङ्का लागि सहज व्यापार, कनेक्टिभिटी, लगानी र हवाइ रुट अपरिहार्य मुद्दा हो । हरेक संवाद र भेटलाई स्पेसिफिक र न्यूनतम मुद्दामा केन्द्रित गर्दै समाधानको प्रयास गर्नु अत्यावश्यक छ ।

राष्ट्रिय स्वार्थका लागि आवश्यक पर्दा दिनदिनै भेट्न, प्रोटोकल अनुसार भेट्न, प्रोटोकलबाहिर निस्केर भेट्न, औपचारिक या अनौपचारिक संवाद गर्न या कूटनीतिका हरेक सम्भावना र च्यानलको प्रयोग गरेर निष्कर्षसम्म पुग्न डराउनुहुँदैन । राष्ट्रपति पुटिनले समकक्षी ट्रम्पलाई भेट्छन्, कहिले उनका दूत कुशनर र विटकफलाई । ट्रम्पले कहिले प्रधानमन्त्री भेट्छन् कहिले सेनापति या राजदूत पनि भेट्छन् । समकक्षता र कूटनीतिक कोरियोग्राफीभन्दा राष्ट्रिय हित र मुद्दा ठूलो हो ।

यो वैश्विक युगमा हाम्रा मुद्दा र स्वार्थ पनि विश्वभर विस्तार भएका हुन्छन् । मात्रा फरक होला तर हामीलाई यो विश्व चाहिन्छ र विश्वलाई हामी पनि चाहिन्छौं । अमेरिका होस् कि चीन, यूएई होस् कि ईयू, भारत होस् कि बङ्गलादेश, हाम्रो राष्ट्रिय स्वार्थ र इस्यु अनुसार एक्टिभ र कन्सट्रक्टिभ इन्गेजमेन्ट जरूरी हुन्छ । जसको आवश्यकता र स्वार्थ ठूलो हुन्छ, संवादको पहल पनि उसैले गर्न पर्छ । घरको ढोकासमेत स्मार्ट बन्दै गएको यो युगमा डिप्लोमेसी पनि स्मार्ट बन्नु आवश्यक छ । एउटा राजदूतलाई भेट्यो कि दलाल भयो, अमेरिकाबाट आउने मन्त्रीलाई भेट्यो कि लम्पसारवादी भयो, कुनै देशको भ्रमणमा गयो कि देश सक्यो, संवादको पहल गर्यो कि झुक्योजस्तो बीसौं शताब्दीवाला जडसूत्रवाद चीन आफैँले छोडिसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *