अघाएको उपाध्यक्ष !

मोहन लामा रुम्बा ।
सरकारले गरेको ल्हारक्याल लामाको नियुक्तिलाई समर्थनमा पोस्ट बनाएको देख्दा धेरै साथीहरू विवादास्पद व्यक्तिको समर्थन गरेको देखेर अचम्मित हुनु भइरहेकोे छ भन्ने कुरा मलाई थाहा छ र कतिपयलाई लाग्दो पनि होला पक्कै मोहन लामाको ऊनीसँग व्यक्तिगत नजिकको सम्बन्ध भएर हो की ? प्रष्ट पारौं–म तीन दिनदेखि ल्हारक्याल लामाको सम्पर्क नम्बर खोजीरहेकोे छु, त्यतिमात्र होइन भेटाई दिने मान्छे पाए भेटेर बधाई दिने त्यसपछि केही सल्लाह पनि दिने सोंचमा छु जो कसैले यति काम गरे हुन्थ्यो म तिनि प्रति आभारी नै हुने थिएँ।

अब प्रसंगमा जाऔं –
पशुपतिनाथमा भ्रष्टाचार भयो, पुजारी यस्तो भयो, सुन यहाँनेर हरायो भन्दै घरीघरी पशुपतिनाथलाई लक्षित गर्दै समाचार पढिरहने बाह्र भाइले बानी बसाइसकेको हुँदा त्यहीँ वरिपरि गुम्बा चैत्यमा के भैरहेको छ भन्ने कुरा थाहा नहुनेहरुलाई लुम्बिनीको बारेमा त झन् के थाहा हुन्छ र ?
लुम्बिनीमा पनि व्यापक भ्रष्टाचार बेथितिले चरम सीमा नाघेको थियो । तर १२ भाइ मिडिया ग्रुप र युट्युबेहरु पशुपतिमा मात्रै भ्रष्टाचार पशुपतिमा मात्रै बेथिति भन्दै हिन्दूको मनोविज्ञानलाई गिजोल्न न्युज कभर भैरहेकोले लुम्बिनीको काण्डहरु सधैं ओझेलमा परिरहेको मात्रै हो तर त्यहाँ पशुपतिनाथ मन्दिरमा भन्दा ठूलो ठूलो काण्ड घटिरहेको थियो।

अवस्था कतिसम्म भयो भने स्वयं लुम्विनी विकास कोषको सदस्यलेनै आफ्नै समिति विरुद्धमा यहाँ भ्रष्टाचार भयो भन्दै अख्तियारमा उजुरी दिएर छानबिन गर्न माग गर्नुपर्यो भने स्थानीय अगुवाहरुले “लुम्बिनी बचाऔं संघर्ष समिति“ नै बनाएर त्यहाँ भैरहेको व्यथिती भ्रष्टाचार विरुद्धमा आवाज उठाउन पर्यो।

संघर्ष समितिक पदाधिकारीहरुको नामावली हेरौं न–
संयोजकः हुसेनी लोध, सह–संयोजकमा मोहम्मद इस्लाम खान, सचिवमा अजय सिंह, सह–सचिव संजय कुमार मिश्रा कोषाध्यक्ष–रफिक अहमद मुसलमान, सदस्यहरु अर्जुन प्रसाद कुर्मी, शीला हरिजन, अञ्जना चौहान, तहरुन निशा फकिर लगायत पात्रहरू छन्।
बौद्धको पवित्रस्थलको जगेर्ना गर्न मुस्लिमले आवाज उठाउनु पर्ने अवस्थामा पुर्याईनु यहाँभन्दा लज्जास्पद अरु के होला ?

यस्तो जिर्ण अवस्थामा पुर्याईसकेको लुम्बिनीमा पहिलोपटक डम्म अघाएको लामालाई नियुक्त गरेको छ। अब ल्हारक्याल लामाले के भ्रष्टाचार गर्ने ? करोड गरौं आफू सँगै करोडौं छ, अर्ब गरौं भने लुम्बिनीको बजेट नै त्यत्ति हुन्छ। यति त पक्का भयो अब लुम्बिनीमा भ्रष्टाचार हुन्न।
बरु यसैबाट हामीले पाठ सिकेर पशुपति क्षेत्र विकास कोषमा पनि सदस्य सचिवमा कर्ण साक्य, सदस्य शेष घले, सदस्य रुप ज्योति, सदस्य जीवा लामिछाने, सदस्य राजेन्द्र खेतान राखेर एकपटक हेरौं त ? अनि कसरी हुँदो रहेछ भ्रष्टाचार ? भोको पेटले सबैभन्दा पहिला भात माग्छ, भोकमरी लागेका भोका नांगा कार्यकर्ताहरुलाई धार्मिक क्षेत्रमा भर्ती गरेर लाहुर पठाएको जसरी पठाउने अनि भ्रष्टाचार भयो भन्दै फेरि धार्मिक क्षेत्रकै बदनाम गर्ने ? अतः पहिलोपटक लुम्विनी विकास कोषमा अघाएका लामा पुगेको छ, भ्रष्टाचार गर्दैन यति चाहिँ ढुक्क हौं ! बाँकी सुधारको पक्षमा के कति गर्लान् नगर्ला हेर्दै जाऔं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *