जेनजी आन्दोलनको एकवर्षः राज्य सञ्चालनमा अझै अन्योल देखिनु दुःखद

-रञ्जनकुमार दाहाल ।

आज एक वर्ष भयो । हाम्रा कलिला १९ जना नवयुवालाई टाउको र छातीमा गोली हानेर रगत बगाइएको त्यो दिन सम्झँदा आज पनि मन भारी हुन्छ। यो दुःखद घटनाको वार्षिकीको संघारमै देशले अकल्पनीय रसुवा महाविपद् को क्षति व्यहोर्नुपरेको छ। आजको दिन पनि देश उस्तै पीडा र चुनौतीबीच उभिएको छ । नवयुवाको आन्दोलनको वार्षिकी मनाइरहँदा देशमा अत्यधिक मतसहित नयाँ, जननिर्वाचित सरकार छ। यसबीच नेपालमा देखिएका केही सकारात्मक र नकारात्मक पक्षबारे मलाई लागेका कुरा छन्ः

१. सकारात्मकः
३६ वर्षदेखि जरा गाडेका विकृति, उदण्डता र भ्रष्टाचारको राजनीतिबाट देशलाई मुक्त गर्ने प्रयास सुरु हुनु ।

२. नकारात्मकः
राज्य सञ्चालनमा अझै अन्योल देखिनु । अपरिपक्व निर्णय गर्ने, फेरि फिर्ता लिने र निर्णय कार्यान्वयनमा मेसो नमिलाउने प्रवृत्ति देखिनु ।

३. सकारात्मकः
आममानिसमा सरकारप्रति आशा पलाउनु र ‘अब देशमा केही हुन्छ’ भन्ने भावना जागृत हुनु ।

४. नकारात्मकः
बजार भाउ बढ्नु र आमनागरिकको दैनिक जीवनयापन कठिन बन्दै जानु ।

५. सकारात्मकः
तुक न बुकका भाषणभन्दा कामलाई प्राथमिकता दिने र धेरै काम गर्ने सरकारको पहिचान बन्नु ।

६. नकारात्मकः
पुराना दलका हार्डकोर कार्यकर्ताहरू, जसले राजनीतिमा सक्रिय नभएका प्राध्यापकहरूलाई अपमानजनक रुपमा ‘लिङ्ग नछुट्टीएको’ भनेर हेप्ने गर्थे, उनीहरूलाई नै विश्वविद्यालयहरूमा नियुक्ति दिइनु र उच्च शिक्षा क्षेत्रमा पुरानै प्रवृत्ति हावी देखिनु ।

७. सकारात्मकः
पुराना र ठूला मिडियामध्ये अधिकांशले सरकारको चरम विरोध गरिरहे पनि सरकारमा रहेकाहरूबाट विगतका सरकारमा देखिएजस्ता भ्रष्टाचारका नयाँ ठूला काण्डहरू सार्वजनिक रूपमा नदेखिनु ।

८. नकारात्मकः
नयाँ माफियाहरूको उदय हुनु । सरकारी नियुक्तिदेखि विकास निर्माण र नयाँ योजनासम्म आफ्नो वर्चस्व कायम गर्न नयाँ माफियाको समूहबाट दलालीकरण सुरु भएको प्रष्ट अनुभूति हुनु ।

९. सकारात्मकः
प्रशासनिक क्षेत्रमा सुधारको संकेत देखिनु ।

१०. नकारात्मकः
आमजनतामा अचम्मलाग्दो असन्तुष्टि देखिनु र नियम–कानुन मान्नसमेत तयार नहुने प्रवृत्ति बढ्नु । ड्युटीमा खटिएका प्रहरीलाई नै कुटपिट गर्ने अवस्था आउनु ।

११. सकारात्मकः
मन्त्रीहरूमा काम गर्ने हुटहुटी देखिनु र दिनरात खटिएर काम गर्ने प्रयास हुनु ।

१२. नकारात्मकः
सरकार बनेको छ महिना पुग्दा पनि राष्ट्रिय राजमार्गका सामान्य समस्या, जस्तै सडकका पटहोलसमेत प्रभावकारी रूपमा टाल्न नसक्नु । यसको अतिउपयुक्त उदाहरणः भुमही–भैरहवा–तौलिहवा–बहादुरगन्ज–चर्नौटा–धानखोला सडकमा देखिएका हजारौँ पटहोलहरु हुन्।

१३. सकारात्मकः
विपद् व्यवस्थापनमा चुस्त, सक्रिय र जवाफदेही भूमिका निर्वाह गर्ने प्रयास देखिनु ।

१४. नकारात्मकः
महाविपद्को अवस्थामा समेत विज्ञहरूलाई परिचालन नगर्नु । “मुढे बुद्धिले मात्र काम हुँदैन” भनेर नवुझ्नु र विपद् व्यवस्थापनमा खोज, उद्धार र राहतको काम भइरहँदा पनि विज्ञताको उचित उपयोग नगर्दा जनता र पीडितका परिवारमा अन्योल र निराशा बढ्नु ।

१५. सकारात्मकः देशमा जिम्मेवार प्रतिपक्ष नभएको अवस्थामा पनि सचेत भएर जिम्मेवारी निभाउने प्रयास

१६. नकारात्मकः
अघिल्ला सरकारहरूमा जस्तै विद्यावारिधि गरेका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका विज्ञहरूलाई हेप्ने र खिसीट्युरी गर्ने प्रवृत्ति कायम रहनु। अझ दुःखद त के छ भने, विज्ञलाई चिढ्याउने गरी उनकै अगाडि “पीएचडी गरेका हामीलाई चाहिँदैन” भन्ने तहको अभिव्यक्ति दिने सल्लाहकार र सरकारको नजिक रहेका नवमाफियाको फुर्ति देखिनु । एक वर्षअघि सडकमा उत्रिएका ती नवयुवाले केवल सत्ता परिवर्तन मागेका थिएनन्। उनीहरूले व्यवस्था, सुशासन, जवाफदेहिता, अवसरको समानता र भ्रष्टाचारमुक्त भविष्य मागेका थिए । त्यसैले आजको प्रश्न केवल “सरकारले के गर्यो?” भन्ने होइन ।

प्रश्न यो पनि होः
के हामीले ती १९ जना नवयुवाको बलिदानको मर्म बुझेका छौँ ? के राज्य सञ्चालनको शैली साँच्चिकै बदलिएको छ ? के नयाँ पुस्ताले खोजेको नेपाल निर्माण हुँदैछ ? इतिहासले यसको मूल्याङ्कन अवश्य गर्नेछ । मेरो यो अनुभुति राष्ट्रिय स्वतन्त्र पार्टीको हाईकमाण्ड सम्म पुर्याइदिनु होला । शहीद नवयुवाहरूप्रति हार्दिक श्रद्धाञ्जली । घाइते, पीडित परिवार र सम्पूर्ण नेपालीप्रति सम्मान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *