सुध्रिनु अरुले मात्रै पर्ने, हामीले चाहिँ नपर्ने ?

क्रान्तिशिखा धिताल ।

जेनजी आन्दोलनको एक वर्ष पुग्यो भन्दैगर्दा मन यस्सै बिथोलिएको थियो। तर वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि जेनजी सहिदहरूको सम्झनामा गरिएको कार्यक्रम देखेपछि म अवाक छु । मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ । मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन ,जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन् तिनले के बुझे मलाइ थाहा छैन ।

जसले जेनजीको आवाजलाई अगाडि बढाए, जसले सरकारका काममाथि निरन्तर प्रश्न उठाए, उनीहरूले आज यो कार्यक्रम यसरी हुनु हुँदैन भनेर हस्तक्षेप गर्न किन सकेनन् ? सायद नेपाली समाजले पछिल्लो एक वर्षमा गुमाएको सबैभन्दा ठूलो कुरा नै अरुले के महसुस गरिरहेका छन भन्ने कुराको महसुस गर्नै नसक्ने, गर्नै नमान्ने, गर्नै नखोज्ने ।
पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको ? हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ।

अहिले हामीमाथि प्रश्न गर्नेहरुलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं ? त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौं हामी । के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौं ? सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान सहिदहरुको बलिदान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *