-शारदा शर्मा
काठमाण्डूको एउटा कोठामा बसेर, प्रलयंकारी बाढीले अनगिन्ती मान्छेका जीवनमा ल्याएको यस अप्रत्यासित त्रासदी म अनुमान पनि गर्न सक्तिन । न उद्धारकर्ताका सबै बाध्यता र सीमा मलाई थाहा छन्, न पीडामा डुबेका नागरिकको चोटको कुनै सानो अंश नै म बुझ्न सक्छु । यद्यपि यो कठिन समयमा विपद्ग्रस्त र पीडित सबै दाजुभाइ दिदीबहिनीप्रति म पुनः सहअनुभूति प्रकट गर्छु र राहत र उद्धार कार्यमा मन मुटु दिएर जुटिरहेका सबै सबैमा हृदयदेखि धन्यवाद र कृतज्ञता भन्न चाहन्छु।
हराएका प्रियजनको पीडामा छटपटाइरहेका परिवारजनका आंशु र आक्रोशलाई सरकारले प्रेम र समानुभूतिले ग्रहण गरोस्…यो चरम अत्यासपूर्ण अवस्थामा त्यो सामान्य हो, सरकारप्रति जनताले गरेको विश्वासकै अभिव्यक्ति हो।सरकारले कुशलतापूर्वक यथाशक्य छिटो काम गरोस्, आफ्ना प्रियजनको तत्काल खोजी गरोस् भन्ने कुरा कुनै पनि हालतमा अन्यथा होइन । नागरिकको अभिभावक हो सरकार, तिनका अपेक्षामा सरकारले उत्तेजना देखाउन र प्रतिक्रिया गर्न पटक्कै मिल्दैन।
यद्यपि यो विपतमा आफ्ना सीमिततासहित तत्काल खटेको र खटिरहेको सरकारलाई निरपेक्ष गाली दिँदा पनि विचार गरौं। आफ्नो ज्यान जोखिममा राखी रात दिन हिलोमा डुबेर काम गरिरहेका थकित मान्छेको मनोबललाई हाम्रो अभिव्यक्तिले उकास्छ कि खस्काउंछ, त्यो पनि उत्तिकै विचारणीय छ।
अनपेक्षित परिमाणको आकस्मिक महाविपत्ति थेग्न सरकारका प्रयत्न पर्याप्त भएन होलान्, अनुभव पुगेन होला, कमजोरी भए होलान्, तिनका निर्णय हामीलाई चित्त बुझेन पनि होला । तर विचार गरौं, जस्तो प्रकारको विपत्तिसंग सरकार जुधिरहेको छ यतिखेर, हामीले विगतमा देखे भोगेका कोही पनि सरकारमा भएका भए यी समस्या हुंदैनथे ? यतिखेर चाउचाउ र बिस्कुटको भरमा हिलो र चट्टान खोस्रंदै सरकारका अंगहरु अहोरात्र हाम्रा हराएका प्रियजनको खोजी नै गरिरहेका छन्। आपतमा परेकाहरुको व्यवस्थापनमै लागिरहेका छन्। हरेक दिन विपत्ति सम्बन्धी अपडेट प्राप्त छ हामीलाई। यी कुरा पनि त सत्य नै हुन्।
जीवन कति अनिश्चित छ, सबै कुरा कति अनित्य छन् भन्ने कुरा यतिखेर प्रत्यक्ष र छर्लंगै छ हाम्रा सामु । त्यसैले पनि कम्तीमा यतिखेर, यो विपद्को घडीमा पीडितहरुलाई केन्द्रमा राखेर, तिनका बीचमा बसेर काम गरिरहेको कसैलाई निरपेक्ष तवरले नखेदौं ।
सुझाव दिऊँ, कमजोरी भएका ठाउँका तथ्य बताइदिउँ, अझ राम्ररी काम गर्ने तरिका पनि बताउँ । तर आग्रह दुराग्रह नराखीकन रचनात्मक किसिमले गरौं । कसैलाई खुच्चिड. गर्ने, खुइल्याउने बेला यो पटक्कै होइन । यतिखेर हामी कोही कसैका प्रतिष्पर्धी होइनौं, कोही यो दुर्भाग्यको प्रकोपमा परेर छटपटाइरहेका छौं, कोही यतिखेरसम्म यो प्रकोपबाट बचेका छौं ।
हुनत समग्रमा हेर्ने हो भने, न यो बच्नु सधैंभरीका लागि हो, न यो अकल्पनीय पीडा नै स्थायी हो। भगवान् कृष्णले भनेझैं सुख र दुःखमा समभाव राख्ने कुरा पनि हामीलाई सजिलो नहोला तत्काल, तर मनमा सत्भाव ल्याउने प्रयत्न गर्न भने पक्कै सकिन्छ। आफूलाई अर्कोले गर्दा बिझ्ने कुराहरु आफूले अर्कोलाई गर्नबाट बच्ने प्रयत्न गर्न सकिन्छ।अलिकति सकारात्मक भएर सोच्न बोल्न सकिन्छ।
भन्छन्– भगवानले समय समयमा हाम्रो परीक्षा लिन्छन् ।त्यो कति सही हो वा होइन, थाहा छैन।तर तीव्र विपत्तिको कुनै पनि अवस्थामा, उग्र संकटमा; हामीभित्रको कमलो, उदार, सहृदयी र विनम्र मान्छेलाई हामीले कति जोगाउन सक्यौं, त्यो भने साँच्चै नै हाम्रो परीक्षा हो । सम्झौं, हामी सबै यतिखेर परीक्षाकै घडीमा छौं ।
