अर्जेन्टिना फिफा विश्वकप च्याम्पियन

काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप-२०२२ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजीत गर्दै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटमा  २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त समयपनि ३-३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा अर्जेन्टिना भाग्यमानि सावित भयो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाको लागि लियोनल मेस्सी, पाउलो डिबाला, लिएनार्दो पारेडेस र गोन्जालो मोन्टिएलले गोल गरे । फ्रान्सको लागि किलिएन एम्बाप्पे र रान्डल कोलो मुआनीले गोल गर्दा किंग्सले कोमान र अरेलिन चुआमिनी चुके ।

यसअघि लुसाइल आइकोनिक स्टेडियममा भएको खेलमा फ्रान्सको लागि किलियन एम्बाप्पेले ह्याट्रिक पूरा गरेपनि टोलीलाई जीत दिलाउन सकेनन् । अर्जेन्टिनाको लागि लियोनल मेस्सीले दुई गोल गर्दा एन्जल डी मारियाले एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । डेम्बेलेले डी मारियालाई डी-बक्स एरियामा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । ३६ औं मिनेटमा म्याक एलिस्टरको पासमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २-१ गोलको स्थितिमा ल्याए । ८१ औं मिनेटमा थुरामको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-२ गोलको बराबरी ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो ।

अतिरिक्त समयको १ सय नवौ मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३-२ गोलको अग्रता दिलाए । १ सय १८ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर फ्रान्सलाई ३-३ गोलको बराबरीमा ल्याएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

जीतसँगै अर्जेन्टिनाले तेस्रोपटक विश्वकप जित्दा फ्रान्स उपाधि रक्षा गर्नबाट चुकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *