प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको भन्दै रक्षा बमको आपत्ति

काठमाडौं । जेनजी अगुवा रक्षा बमले इनम सापकोटा प्रकरणको अनुसन्धानमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारबाट राजनीतिक हस्तक्षेप भएको भन्दै प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जालमार्फत बमले प्रहरी अनुसन्धानका क्रममा प्रधानमन्त्री बालेन साह र उनका प्रमुख कार्यकर्ताको नाम जोडिएपछि अनुसन्धानको दायराभित्र हस्तक्षेप भएको आरोप लगाएकी हुन् ।

उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अनुसन्धानकर्ता नभएको र प्रधानमन्त्री कार्यालय अनुसन्धान गर्ने निकाय नभएको उल्लेख गर्दै अनुसन्धानको मुख्य प्रमाण अपहरण गरिएको भन्ने खबर सार्वजनिक हुनु गम्भीर विषय भएको बताएकी छन् ।

‘प्रहरी अनुसन्धानको कोठाभित्र राजनीतिक हस्तक्षेप हुनु, त्यही कुरालाई हलुका रूपमा प्रस्तुत गर्दै मिम बनाउनु, स्वाग देखाउनु र सामाजिक सञ्जालमा ठट्टा गर्नुले समाजले मुलुकलाई कस्तो यात्रातर्फ लैजाला ?’ उनले प्रश्न गरेकी छन् ।

बमले अनुसन्धानमा हस्तक्षेप किन र कसलाई जोगाउन गरिएको हो भन्ने प्रश्नसमेत उठाएकी छन् । यस्ता गम्भीर विषयलाई ठट्टाका रूपमा लिएर रमाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले नागरिकले प्रश्न गर्न पाउने अधिकार गुम्नुअघि नै घटनाबारे प्रश्न उठाउन आग्रह गरेकी छन् ।

उनले लेखेकी छन्, ‘यहाँ खुसी हुने केही कुरै छैन। प्रश्न सोध्नै नपाउने दिन आउनुअघि यो एक प्रश्न तपाईंहरूले पनि सोधिहाल्नुस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *