फिफा विश्वकप : आज मोरोक्को र पोर्चुगल भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा मोरोक्को र पोर्चुगल भिड्दैछन् । अल थुमामा स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ८:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । अन्तिम १६ अन्तर्गत भएको खेलमा उपाधिको बलियो दाबेदार तथा सन् २०१० को च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोलले स्तब्ध बनाउँदै मोरोक्को अन्तिम ८ मा पुगेको थियो । विश्वकपको अन्तिम ८ मा प्रवेश गर्ने मोरोकको चौथो अफ्रिकन टोली हो भने १२ वर्षमा पहिलोपटक क्वाटरफाइनल खेल्ने पहिलो अफ्रिकी देश हो । जारी विश्वकपमा मोरोक्कोले मात्र एक गोल बेहोरेको छ ।  क्यानडाविरुद्ध भएको समूहचरणको अन्तिम खेलमा आफ्नै खेलाडीले आत्मघाती गोल गरेपछि मोरोक्कोले जारी विश्वकपमा पहिलो गोल खाएको हो ।

यता पोर्चुगलले भने जारी विश्वकपमा १३ गोल गर्दा चार गोल खाएको छ । अन्तिम १६ को खेलमा गोन्जालो रामोसले ह्याट्रिक पूरा गरेपछि स्विट्जरल्यान्डलाई ६-१ गोलले हराएको पोर्चुगल उच्च मनोबलसहित मैदान उत्रिनेछ । स्विट्जरल्यान्डविरुद्ध भएको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदान उत्रिदै जारी विश्वकपको पहिलो ह्याट्रिक पूरा गरेका रामोस आजको खेलमापनि शुरुवात गर्ने उच्च सम्भावना रहेको छ । जसको मतलब आज फेरीपनि रोनाल्डो बेन्चमा रहने पक्का-पक्कीनै छ । सन् २०१६ को युरोकप र नेसन्स लिग आफ्नो नाममा लेखाइसकको पोर्चुगल पहिलोपटक विश्वकप जित्ने दाउमा छ ।

यसअघि रसियामा भएको पछिल्लो संस्करणमा दुवै टोली एकै समूहमा रहेका थिए । उक्त खेलमा पोर्चुगलले मोरोक्कोलाई १-० गोलले हराएको थिए । त्यसैले मोरोक्कोलाई आज उक्त खेलको बदला लिने अवसर रहेको छ भने पोर्चुगललाई मोरोक्कोलाई रोक्ने चुनौती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *