सिन्धुपाल्चोक । सिन्धुपाल्चोकबाट स्रोत नखुलेको ६६ हजार ९५० युआन (नेपाली रुपैयाँ १६ लाख ६ हजार ८००) सहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बिहीबार मंसिर १० गते दिउँसो करिब ३ः४५ बजे भोटेकोशी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी पोष्ट १० किलो अगाडि जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय कोदारी र अस्थायी प्रहरी पोष्ट १० किलोबाट खटिएको संयुक्त प्रहरी टोलीले कोदारीबाट काठमाडौं जाँदै गरेको बीएसी ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।
गाडीको बीचको सिटमा सवार ५१ वर्षीय चिनियाँ नागरिक सिरेनु ओजीले बोकेको कालो झोलाभित्र लुकाइएको अवस्थामा उक्त रकम फेला परेको थियो ।
बरामद रकममा १०० युआन दरका ६६७ थान र ५० युआन दरका पाँच थान नोट रहेका छन् । उक्त रकमको नेपाली मूल्य १६ लाख ६ हजार ८०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ५१ वर्षीय सिरेनु ओजी र ४३ वर्षीय चिनियाँ नागरिक वुजियान्दुओजीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोदारीमा राखिएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्कारपियोका चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ निवासी २८ वर्षीय मोहन भण्डारीलाई भने आवश्यक अनुसन्धानपछि छाडिएको छ ।
