पराजित भएपछि विजयी नेतृत्वलाई असहयोग गर्ने प्रवृत्ति पार्टीका लागि घातकः अध्यक्ष लिङ्देन

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रको विकृति, असहयोग र निष्क्रिय संगठनात्मक प्रवृत्ति अन्त्य गर्दै सुशासन, निष्ठा र स्पष्ट राजनीतिक दृष्टिकोणका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले आगामी महाधिवेशनलाई लक्षित गरी कागजी संगठनभन्दा क्रियाशील संगठन निर्माणमा जुट्नुपर्ने बताए । बिहीबार भैरहवामा पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिको शपथग्रहण कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएपनि पराजित भएपछि विजयी नेतृत्वलाई असहयोग गर्ने प्रवृत्ति पार्टीका लागि घातक हुने बताए । यस्तो राजनीतिक संस्कार नयाँ पुस्ताले अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

आफू झापा जिल्ला अध्यक्षमा दुई पटक र केन्द्रीय सदस्यमा दुई पटक पराजित भए पनि निरन्तरको प्रयासबाट पार्टीको केन्द्रीय अध्यक्ष बन्न सफल भएको बताए । उनले भने, ‘एउटा चुनाव हार्दैमा राजनीति सकिँदैन र एउटा चुनाव जित्दैमा वाहवाही हुने पनि होइन ।’ प्रतिस्पर्धापछि पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने उनले बताए ।

लिङ्देनले विगतमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारसमेत नपाउने अवस्था रहेको र भोट बैंकका लागि मात्र पार्टी कमिटी बनाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अब वास्तविक रुपमा सक्रिय संगठन निर्माण गर्नुपर्नेमा जोड दिए ।

आगामी महाधिवेशनको तयारीसँगै पार्टीलाई अनुशासित, व्यवस्थित र जनतासँग जोडिएको बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता तथा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि पार्टीभित्रको दुविधा, अनुशासनहीनता र नेतृत्वविरुद्धको अनावश्यक विरोध अन्त्य गरी एकताबद्ध हुनुपर्ने बताए ।

प्रधानले राप्रपा एक सिटबाट १४ सिटसम्म पुगेर राष्ट्रिय पार्टी बन्न सफल भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनको नेतृत्वले पार्टीलाई राजनीतिक पहिचान र सम्मान दिलाएको बताए । पार्टीलाई कमजोर बनाउने गतिविधि र नेतृत्वप्रति भ्रम फैलाउने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *