एजेन्सी । फिफा विश्वकप-२०२२ मा एसियन टोली जापानले स्पेनलाई पराजीत गरेको हो । बिहीबार राति भएको खेलमा स्पेनलाई २-१ गोलले पराजीत गर्दै जापान समूह ‘इ’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा जापानलाई जीत दिलाउन रित्सु डोएन र ओ टानाकाले समान एक-एक गोल गरे । स्पेनको लागि अल्भारो मोराटाले एक गोल गरे । खेलको ११ औं मिनेटमा अज्लिपिकुएटाको क्रसमा मोराटाले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा इटोको पासमा डोएनले गोल गर्दै जापानलाई १-१ गोलको बराबरीमा ल्याए ।
५१ औं मिनेटमा मिटोमाको पासमा टानाकाले गोल गर्दै जापानलाई २-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा जापान २-१ गोलले विजयी भयो ।
जीतसँगै जापान तीन खेलबाट ६ अंक जोड्दै समूह विजेता बन्दै नकआउट चरणमा पुग्दा समान खेलबाट ४ अंक जोडेको स्पेन उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो ।