एजेन्सी । चारपटकको च्याम्पियन जर्मनी फिफा विश्वकप-२०२२ को समूहचरणबाटै बाहिरिएको छ । बिहीबार राति भएको समूह ‘ईको अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोलले पराजीत गरेपनि जर्मनी लगातार दोस्रोपटक विश्वकपको समूहचरणबाटै बाहिरिएको हो ।
अल बायत स्टेडियममा भएको खेलमा जर्मनीलाई जीत दिलाउन काइ हाभेर्ट्जले दुई गोल गर्दा सेर्जे ग्नाब्री र निकलस फुल्क्रुगले समान एक-एक गोल गरे । कोस्टारिकाको लागि येल्ट्सिन टेजेडाले एक गोल गर्दा एक गोल उपहार पाएको हो । खेलको दसौं मिनेटमा डेभिड राउमको क्रसमा ग्नाब्रीले गोल गर्दै जर्मनीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
५८ औं मिनेटमा टेजेडाले गोल गर्दै कोस्टारिकालाई १-१ गोलको बराबरीमा ल्याए । ७० औं मिनेटमा गोलकिपर नुयरले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि कोस्टारिकाले खेलमा २-१ गोलको अग्रता लिएको थियो । तर तीन मिनेट पछाडि फुल्क्रुगको पासमा हाभेर्ट्जले गोल गर्दै जर्मनीलाई २-२ गोलको बराबरीमा ल्याए ।
८५ औं मिनेटमा ग्नाब्रीको पासमा हाभेर्ट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-२ गोलको बराबरीमा ल्याए । यस्तै ८९ औं मिनेटमा सानेको पासमा फुल्क्रुगले गोल गर्दै जर्मनीलाई ४-२ गोलको जीत दिलाए ।
जीतसँगै जर्मनी तीन खेलबाट ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा उक्लिएको हो । पराजित कोस्टारिका ३ अंकको साथ पुछारमा रह्यो । स्पेनको पनि समान खेलबाट ४ अंक भएपनि गोल अन्तरमा जर्मनी पछाडी रहन पुग्यो । जर्मनी चार वर्ष अगाडि रसियाको भएको विश्वकपकोपनि समूहचरणबाटै घर फर्किएको थियो ।