लगातार दोस्रोपटक विश्वकपको समूहचरणबाटै बाहिरिने डरमा जर्मनी

एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने समूहचरणको अन्तिम खेलमा चार पटकको च्याम्पियन जर्मनी र कोस्टारिका भिड्दैछन् । अल बायत स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

सर्वाधिक ५ पटक विश्वकप जित्ने ब्राजिलको कीर्तिमानलाई बराबरी गर्ने लक्ष्यसाथ कतार पुगेको जर्मनी लगातार दोस्रोपटक समूहचरणबाटै घर फर्किने डरमा रहेको छ । चार वर्ष अगाडि रसियामा भएको विश्वकपमापनि जर्मनी समूहचरणबाटै बाहिरिएको थियो । जर्मनीलाई नकआउट चरण पुग्न जीतमात्र पर्याप्त रहनेछैन । समूहको जापान र स्पेनबीच हुने अर्को खेलको नतिजापनि पर्खिनुपर्नेछ । जर्मनीले आफ्नो खेलमा जीत निकालेपनि नकआउट चरण पुग्न स्पेनले जापानलाई हराउनु पर्नेछ ।

यस्तै जापान र स्पेनले बराबरी खेलेको खण्डमा दोस्रो स्थानको लागि जर्मनीले कोस्टारिकालाई दुई भन्दा बढी गोलले हराउनुपर्नेछ । यदि जापानले स्पेनलाई पराजीत गरेको खण्डमा जर्मनीलाई पाँच गोल भन्दा बढी गोल अन्तर चाहिनेछ । पछिल्लो १० खेलमा मात्र दुई जीत निकालेको जर्मनी आजको खेलमा कोस्टारिकासँग बराबरी या पराजीत भए सिधै समूहचरणबाटै घर फर्किनेछ ।

यता पहिलो खेलमा स्पेनसँग ७-० गोलले पराजीत गरेपनि दोस्रो खेलमा जापानलाई १-० गोलले हराउँदै प्रतियोगितामा पुनरागमन गरेको थियो । हाल दुई खेलबाट तीन जोडेको कोस्टारिका आज जर्मनीलाई पराजीत गर्न सके नकआउट चरणमा पुग्नेछ । यदि बराबरी खेलेको खण्डमा कोस्टारिकाले जापान र स्पेनबीचको खेलको नतिजा कुर्नुपर्नेछ । जहाँ कोस्टारिका अन्तिम १६ मा पुग्न स्पेनले जापानलाई ६ गोल भन्दा बढी गोलअन्तरले हराउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *