एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने समूह ‘एफ’को तेस्रो चरणको खेलमा क्रोएसिया र बेल्जियम भिड्दैछन् । अहमेद बिन अली स्टेडियममा हुने खेल ८:४५ बजे शुरु हुनेछ ।
पहिलो खेलमा मोरोक्कोसँग गोलरहित बराबरी खेल्दै विश्वकपको शुरुवात गरेको क्रोएसियाले दोस्रो खेलमा क्यानडामाथि ४-१ गोलको रफाफिलो जीत निकालेको थियो । साविक उपविजेता क्रोएसिया हाल दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । आजको खेलमा हार टारेको खण्डमा क्रोएसिया नकआउट चरणमा प्रवेश गर्नेछ ।
फिफा वरियताको १२ औं स्थानमा रहेको र्क्रोएसिया आफ्नो पछिल्लो ८ खेलअपराजीत रहेको छ भने युरो २०२० पछि खेलेको १८ खेलमा क्रोएसियाले मात्र एक खेलमा हार बेहोरेको छ ।
यता बेल्जियमलाई भने नकआउट चरणमा पुग्न जीतको आवश्यक रहेको छ । चार वर्ष अगाडि तेस्रो स्थानमा रहँदै विश्वकपको अन्त्य गरेको बेल्जियमले आजको खेलमा बराबरी खेलेको खण्डमा मोरोक्कोको नतिजा कुर्नुपर्ने छ । बराबरी खेलेपनि मोरोक्को क्यानडासँग तीन गोल भन्दा बढी गोल अन्तरले पराजीत भएको खण्डमा मात्र बेल्जियम नकआउट चरण पुग्नेछ ।
बेल्जियम आफ्नो पछिल्लो चार खेल मध्य तीन खेलमा पराजीत भएको छ । बेल्जियम क्रोएसियाविरुद्धको पछिल्लो तीन भेटमा अपराजीत रहेको छ ।