एजेन्सी । उपाधिको बलियो दाबेदार टोली इंग्ल्याण्ड फिफा विश्वकप-२०२२ को अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३-० गोलले पराजीत गर्दै इंग्ल्याण्डले नकआउट चरणमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।
अहमेद बिन अली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन मार्कुस रासफोर्डले दुई र फिल फोडेनले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा रासफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा केनको पासमा फोडेनले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए ।
यस्तै ६८ औं मिनेटमा फिलिप्सको पासमा रासफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई ३-० गोलको सहज जीत दिलाए । जीतसँगै इंग्ल्याण्ड ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्दा एक अंक जोडेको वेल्स पुछारमा रह्यो ।
अब इंग्ल्याण्डले अन्तिम १६ मा समूह ‘ए’को उपविजेता सेनेगलको सामना गर्नेछ ।