काठमाडौँ । चीनले काठमाडौं चक्रपथ विस्तार परियोजना (कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड) को निर्माण तत्काल थाल्ने भएको छ । पर्यटकीय सहर छिङ ताओमा नेपाल र चीनकाे परराष्ट्र मन्त्रीस्तरीय वार्तामा चिनियाँ विदेशमन्त्री वांग यीले केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहायता दिने जनाएको हुन् ।
नेपाल-चीन क्रस बोर्डर ट्रान्समिसन लाइनको पूर्व सम्भाव्यता अध्ययनमा पनि चीनले सहयोग गर्ने भएकाे छ । चिनियाँ विदेशमन्त्री वाङले नेपालका लागि ८०० मिलियन आरएमबी दिने घोषणा गरेका छन् । नेपालको आग्रहअनुसार रासायनिक मल दिन सकारात्मक रहेको चीनले नेपालमा उद्योग खोल्न पनि सघाउने जनाएकाे छ ।
केरुङ र तातोपानी नाका दुईतर्फी र हिल्सा-पुलाङ नाका एकतर्फीरुपमा खुला गर्न दुई देशका परराष्ट्रमन्त्री सहमत भएका छन् । यसरी नाका खोल्दा सीमामा महामारी रोकथामको संयन्त्र स्थापना गर्ने गरिनेछ ।
चीनले प्राकृतिक विपत्तिमा परेका नेपालीहरुका लागि ३ मिलियन आरएमबी बराबरको राहत सामाग्री तथा २ मिलियन आरएमबी बराबर मेडिकल सामाग्री दिने भएको छ । विदेशमन्त्री वाङले नेपालको आग्रह गरेअनुसार कोरोनाविरुद्धको खोप र स्वास्थ्य सहयोग दिने पनि बताए ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठका अनुसार विदेशमन्त्री वाङले ब्लड क्यान्सरको विरामीको उपचारका लागि ‘सीएआर टी सेल’ उत्पादन ल्याब्रेटोरी सिभिल अस्पतालमा स्थापना गर्न सहयता प्रदान गर्ने घोषणासमेत गरेका छन् । आफ्नो अध्ययन पुरा गर्न चीन फर्किन चाहेका नेपाली विद्यार्थीहरुले स्वास्थ्य मापदण्ड पुरा गरेर भिसा प्रक्रिया अघि बढाउनसक्ने समेत मन्त्री वाङले बताए ।
परराष्ट्रमन्त्री नारायण खड्काले एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको बताएका छन् । साथै उनले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने बताएका थिए ।
चिनियाँ विदेशमन्त्री वाङले पनि नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् । साथै नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकासमा सहयोग जारी राख्ने बताएका छन् ।
दुई देशका बिदेशमन्त्रीबीच नेपाल चीन सीमा निरीक्षण समितिको काम अघि बढाउन द्विपक्षीय प्राविधिक समिति बनाउने तथा दुई देशबाट भएका उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिहरु समयमै कार्यान्वयन गर्ने सहमति भएको छ ।
११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन गएका परराष्ट्रमन्त्री खड्का भोलि बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।