USAID

‘शर्माको पुनरागमन लोकतन्त्रमाथिको उपहास हो’

काठमाडौं । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ मा संसदीय छानबिन विशेष समिति गठन भएसँगै अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिए । संसदीय समितिले १७ दिन लगाएर घटनासँग सम्बन्धित विभिन्न व्यक्ति तथा सीसीटिभी फुटेज हेर्दा अनिधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको भन्दै शर्मालाई सफाई दियो । तर यसमा नेकपा एमालेका चार सदस्यले २७ बुँदै असहमति राखेका छन् । कल डिटेल हेर्न नदिएको, सीसीटिभीको फुटेज मेटाएकोलगायतका बुँदा रहेका छन् ।

समितिले प्रतिवेदन बुझाएसँगै जनार्दन शर्मा राजीनामा दिएको २५ दिनपछि पुनः अर्थमन्त्रालयको कार्यभार सम्हाल्न आइपुगेका छन् । शर्मालाई प्रधानमन्त्रीको सिफारिसमा आइतबार राष्ट्रपतिले अर्थमन्त्री नियुक्त गरिसकेकी छन् भने शर्माले कार्यभारपनि सम्हालिसकेका छन् । शर्मालाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको सर्वत्र आलोचना भएको छ । राजीनामा दिएर बाहिरिसकेपछि बिनादबाब–प्रभाव अनुसन्धान गर्न दिने जिम्मेवारी पूरा नगरेका उनीहरूले अरू नै कोही स्वच्छ छविको दक्ष व्यक्तिलाई अर्थमन्त्री बनाउनुपर्ने सार्वजनिक मागलाई पनि सम्मान नगरेको भन्दै आलोचना भएको छ । सत्तारुढ नेपाली कांग्रेसका नेता तथा बुद्धिजिवीहरुले उनीहरुको आलोचना गरेका छन् ।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रश्न गरेका छन्, ‘अर्थमन्त्रीको रुपमा जनार्दन शर्माको पुनर्नियुक्ति राष्ट्रिय अपराधप्रतिको नजरअन्दाज र उदासिनता हो । हाम्रो समाजमा समान्य चोरी/डकैतीलाई सख्त कारवाही गर्ने कानूनी प्रबन्ध छ । तर आज राष्ट्रमा गम्भीर अपराध गर्ने शर्माको पुनरागमन लोकतन्त्रमाथिको उपहास हो । लोकतन्त्रमा जे पनि गर्न पाइन्छ र ?’

त्यस्तै अर्का कांग्रेस नेता डा. गोविन्दराज पोखरेलले भनेका छन्, ‘संसदीय समितिले सफाई दिए पछि अधिकारनुसार प्रधानमन्त्रीले नियुक्त गर्नु भएको छ । प्रकृया ठिकै होला । तर लोकतन्त्रमा जनमत ठूलो पुजककी हो । ७,४६,६२/६३ सबै परिवर्तन जनमतले गरेका थिए न कि सरकारी प्रकृया र साविकका कानुनले । ११५ दिनका लागि विकल्प नभएजस्तो गर्नु लज्जास्पद ।’

पूर्वराजदूत निलाम्बर आचार्यले शर्माको नियुक्ति प्रजातन्त्रकै निम्ति क्षति भएको बताएका छन् । उनले भने, ‘नेपाली कांग्रेसप्रति मेरो विशेष माया छ । तर यसका उच्चासीनहरूले पटक पटक दुखित तुल्याएका छन् । कांग्रेस यसरी पतन मार्गमा लाग्नु प्रजातन्त्रकै निम्ति क्षति हो । मन खिन्न छ ।’

पूर्वमन्त्री जेपी गुप्ताले त यो निर्णबाट देशको चेतना निःशब्द भएको उल्लेख गरेका छन् । उनले भनेका छन्,‘देशको चेतना निःशब्द भयो । प्रधानन्त्रीको पुरै मन्त्रिमण्डल र नेपाली कांग्रेसमा प्रधानमन्त्रीलाई अभिनन्दन गर्ने सबैका लागि परमार्थ प्राप्तिको एक मात्र उपयुक्त मार्ग भने अब अरूण नदीको भीरमा उभिएर ‘मनीषी’ योगमायाको बाटो अबलम्वन गर्ने देखियो । धिक्कार छ । ’

संविधानविद डा. भीमार्जुन आचार्यको प्रतिक्रिया छ, ‘के गठबन्धन भित्र अर्थमन्त्री बन्न सक्ने क्षमता भएका अरू कोही सांसद जीवित थिएनन् ? एउटा व्यक्तिको लाज र अपराध छोपिदिन यो हदसम्मको भद्दा प्रहसन गर्न सरकार र संसदले कसरी सकेको होला ? सरकार, संसद र सम्बद्ध दललाई गहिरो खेद !’

नागरिक अगुवा देवेन्द्रराज पाण्डेले भने, ‘हेर्दा मुलुककोलागि यथार्थमा आफ्नैलागि लिइने अडान वा चालिने पाइलाको के अर्थ ! १२ बॅुदेमा सहीगर्न हिचकिचाएका शेरबहादुर देउवा हाल माओवादी भनेपछि हुरूक्क !’

यो पनि

बजेटबारे संसदीय छानबिन प्रतिवेदनमा एमालेको २७ बुँदे फरक मत 

संसदीय समितिको प्रतिवेदन तथ्यमा आधारित छैनः अध्यक्ष ओली

बजेट प्रकरणः संसदीय छानबिन समितिले बुझायो सभामुखलाई प्रतिवेदन(प्रतिवेदनको पूर्णपाठ)

CivActsAd

Leave a Reply

Your email address will not be published.