किन मुछियो सेनेटरी प्याड प्रकरणमा प्रधानमन्त्री देउवाको परिवार ?

काठमाडौं । राजश्वका दरको अनधिकृत हेरफेर प्रकरण चर्किएपछि अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भए । अब संसदीय समितिले यसबारे छानबिन गर्ला नै । समितिलाई १० दिनको समयावधि दिइएको छ । समितिले अर्थमन्त्री शर्माले कसका लागि राजश्वको दरमा अनाधिकृत हेरफेर गरे ? उनले कसको दबावमा अनधिकृत व्यक्तिलाई वजेटको बनाउने जिम्मा दिए त ? त्यस्तै कुन कुन व्यापारीको लाभ पुग्ने गरी राजश्वका दरमा हेरफेर गरिएको हो र कसको दबावमा सीसीटिभी फुटेज डिटिल गरियो ? भन्ने थुप्रै प्रश्न छन् । यसबारे समितिले खोज्ला नै ।

यसरी अर्थमन्त्रीमाथि प्रश्न उठ्दै गर्दा धेरै जसो उत्तर प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारसँग जोडिएका छन् । राजश्वका दर हेरफेर प्रकरणमा सबैभन्दा ठूलो कर छुट सेनेटरी प्याड आयातमा दिइएको थियो । सेनेटरी प्याड आयातमा १५ प्रतिशत भन्सार लाग्दै आएकोमा अर्थमन्त्री शर्माले ९० प्रतिशत कटौती गरी दुई प्रतिशतमा झारेका थिए । सेनेटरी प्याड निर्माण गर्ने कच्चा पदार्थको आयातमा लाग्दै आएको भन्दा ५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याइएको छ भने तयारी सेनेटरी प्याडमा लाग्दै आएको भन्सार १५ प्रशितबाट घटाएर २ प्रशितमा झारिएको छ ।

सरकारको यो कदम स्वदेशी उद्योगलाई धरासायी बनाएर आयतकर्ता व्यापारी पोस्ने हर्कतका रुपमा आलोचना गरिएको थियो । तर आयातकर्ता व्यापारी को हुन् ? र उनलाई पोस्नै पर्ने वाध्यतामा अर्थमन्त्री कसरी पुगे ? नेपालमा आयात हुने मध्ये करिव ९० प्रतिशत सेनेटरी प्याड आयत गर्ने कम्पनी ब्लुप्रिन्ट हो । जसको ७० प्रतिशत स्वामित्व प्रधानमन्त्री देउवाका छोरा जयवीर सिंहको भएको समाचार आइरहेका छन् । नेपालमा सेनेटरी प्याडको बजार बार्षिक अर्बौं रुपैंयाको रहेको अनुमान छ । किनकी नेपालमा १३ देखि ४९ वर्ष अर्थात् महिनावारी हुने महिलाहरुको संख्या करिव १ करोड छ । एक जना महिलाले महिनामा सरदर पाँच वटा सेनेटरी प्याड प्रयोग गर्छन् । यस हिसावले वर्षको ६० करोड वटा सेनिटरी प्याडको खपत हुन्छ ।

सरकारले देशभरका सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड निःशुल्क उपलव्ध गराउने नीति लिएपछि यसको बजार ह्वात्तै बढेको छ । बजार बढेका कारण धमाधम उद्योग खुल्न थाले, रोजगारी वृद्धि भयो । तर अहिले स्वदेशी उद्योगलाई धरासायी बनाउने र निश्चित व्यापारी त्यसमा पनि प्रधानमन्त्रीकै परिवार पोस्ने जमर्को गरिएपछि यसको सर्वत्र विरोध भएको हो । सेनेटरी प्याडको व्यापार गर्दै आएको ब्लु प्रिन्ट ट्रेडिङ प्रालिका अध्यक्ष हुन् जयवीरसिंह । यो कम्पनीमा भरतपुर चितवनका हेमन्त बजगाईंसँग उनको साझेदारी छ ।

बजेट भाषणको अघिल्लो रात पूर्वनासुलाई अर्थ मन्त्रालयमै घुसाएर करका दर हेरफेर गराइएको समाचार सार्वजनिक भएको थियो । यसरी बजेट चलाउँदा निश्चित व्यापारिक घरानालाई फाइदा पुर्याउने उद्देश्य लिएको आरोप अर्थमन्त्रीमाथि लागेको छ । सेनेटरी प्याडमा भएको चलखेलको विषय त प्रधानमन्त्रीमाथि सोझिएको छ । त्यसैले प्रधानमन्त्री देउवाले यसबारे सत्यतथ्य जनतासामु भन्नैपर्छ, भएको चाहिँ के हो त ? के सेनेटरी प्याड आयात गर्ने कम्पनी ब्लुप्रिन्ट छोरा जयबीरको होइन त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *