USAID

बढ्यो विदेशी मुद्राको तस्करी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गत शुक्रबार १९ हजार ६०० अस्ट्रेलियन डलर बरामद ग–यो । कतार एयरवेजको उडानमार्फत दोहा हुँदै अस्ट्रेलिया उड्न लागेकी गोरखा बोर्लाङ–८ की रन्जिता श्रेष्ठको साथबाट उक्त डलर बरामद भएको हो ।

बिहीबार नेपाल वायुसेवाको उडानमार्फत दुबई जान लागेकी काठमाडौँ महानगरपालिका­–२ की सहनशीला वज्राचार्य शाक्यको साथबाट सात हजार ७०० युरो, एक हजार ९०० क्यानेडियन डलर तथा १३ हजार साउदी रियाल र ३३ ओमानी रकम बरामद भयो ।

गत फागुन २६ गते अस्ट्रेलियन एयरलाइन्स भिस्टारामार्फत दिल्ली जान लागेका थाई महिला वान्विसा जन्तासन र वारापोर्न खुन्सोम्बत नेपालमा प्रतिबन्धित भारतीय रुपियाँ दुई हजार र पाँच सयका झन्डै तीन लाखका नोटसहित पक्राउ परे । गत फागन १७ गते सिङ्गापुर एयरलाइन्समार्फत सिङ्गापुर हुँदै जापान जान लागेका स्याङ्जा मिर्मी–६ का रेस्मराज भट्टराईको साथबाट जापानी येन १५ लाख ९० हजार बरामद भयो ।

हिमालय एयरलाइन्सबाट फागुन ११ गते मलेसियाको क्वालालाम्पुर उड्न लागेका भारतीय नागरिकको साथबाट ३८ हजार ९०० मलेसियन रिङ्गेट बरामद भयो । विदेशी मुद्राको अवैध कारोबारका यी केही घटना हुन् । यसले नेपालबाट विदेशी मुद्राको अवैध कारोबार बढेको देखाउँछ । यी घटनाबारे राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले विदेशी मुद्राको ओसारपसारका घटना बढ्न थालेपछि निगरानी बढाइएको बताएका छन् । अनुसन्धान भइरहेकाले कुन प्रयोजनका लागि उक्त रकम बाहिर जान लागेको हो भन्नेबारे खुल्न बाँकी रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published.