एनपीएल फाइनल : उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।

दुवै टोली जित निकाल्दै उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । साविक विजेता लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्दै उपाधि रक्षा गर्ने योजनामा छ भने सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्न चाहन्छ ।

गत संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए । उक्त खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमा अलआउट भएको थियो । जवाफमा लुम्बिनीले ९ ओभरमै लक्ष्य पूरा गर्दै ६ विकेटको सहज जित निकालेको थियो ।

यसपटक सुदूरपश्चिम उक्त हारको बदला लिँदै उपाधि आफ्नो नाममा लेखाउन चाहन्छ । यसअघि लगातार दुई संस्करणको फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको सुदूरपश्चिमका लागि यो तेस्रो अवसर हो । पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

कस्तो छ दुई टोलीको लय ?

सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम लिग चरणमा सातमध्ये पाँच खेल जित्दै १० अंकका साथ दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो । प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो ।

तेस्रो खेलमा विराटनगर किंग्ससँग ३५ रनले पराजित भए पनि त्यसपछिका चार खेलमा लगातार जित निकाल्दै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरेको थियो । उसले चितवन राइनोजलाई ५ विकेट, कर्णाली याक्सलाई ३९ रन, जनकपुर बोल्ट्सलाई २७ रन र काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गरेको थियो ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सिधै फाइनल पुग्ने अवसर गुमाएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ६१ रनले हराउँदै लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको हो ।

लुम्बिनी लायन्स
लुम्बिनी लायन्स लिग चरणमा शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । सात खेल खेलेको लुम्बिनीले पाँच जित, एक हारको नतिजा निकालेको थियो । एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको लुम्बिनीको चितवन राइनोजसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि पोखरा एभेन्जर्सलाई ८ विकेट र जनकपुर बोल्ट्सलाई ३६ रनले पराजित गरेको लुम्बिनी पाँचौँ खेलमा काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएको थियो ।

त्यसपछिका दुई खेलमा कर्णाली याक्स र विराटनगर किंग्सलाई समान ४ विकेटले हराउँदै लुम्बिनीले लिग चरणको शीर्ष स्थान कायम गरेको थियो। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुगेको हो ।

हेड टु हेडमा को अगाडि?

तेस्रो संस्करणको फाइनलसम्म आइपुग्दा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच एनपीएलमा पाँचपटक प्रतिस्पर्धा भएको छ । जसमा लुम्बिनीले तीन खेल जित्दा सुदूरपश्चिमले दुई खेलमा जित निकालेको छ।

पहिलो संस्करणको लिग चरणमा सुदूरपश्चिम ४५ रनले विजयी भएको थियो भने दोस्रो संस्करणको लिग चरणमा उसले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो संस्करणको फाइनलमा भने लुम्बिनीले ६ विकेटको जित निकाल्दै उपाधि जितेको थियो ।

तेस्रो संस्करणको लिग चरणमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो । त्यसपछि पहिलो क्वालिफायरमा पनि ६ विकेटको जित निकाल्दै लुम्बिनीले सुदूरपश्चिममाथि आफ्नो वर्चस्व कायम राखेको छ ।

पछिल्ला तीन भेटमा लगातार जित निकालेको लुम्बिनी यही लयलाई फाइनलमा पनि निरन्तरता दिन चाहन्छ । तर, लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिम यसपटक उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *