शिवम अधिकारीको निर्देशनमा ‘सेतो कोट’ निर्माण हुने

काठमाडौँ । मिनु शर्मा प्रोडक्सनको प्रस्तुति, शिवम अधिकारीको लेखन तथा निर्देशनमा चलचित्र ‘सेतो कोट’ निर्माण हुने भएको छ । कोटेश्वर महादेवस्थान मन्दिरमा पूजाआजा पश्चात् एक कार्यक्रमकाबीच मुहूर्त गर्दै फिल्मको बारेमा जानकारी गराइएको हो ।

चलचित्रको मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले डाइलग बोल्दै गर्दा नीर शाहले निर्देशन गरे । शोभित बस्नेत क्ल्यापमा हुँदा क्यामेरामा पत्रकार सरिता भारती थिइन् भने नरिवल फुटाउन चर्चित भिलेन सुशान्त श्रेष्ठ थिए ।

दोस्रो चलचित्रको रूपमा सेतो कोट निर्माण गर्दै गर्दा निर्माता मिनुले आफ्नो पहिलो चलचित्र सफल त भयो तर आफू जहाँको त्यही रहे भन्दै यो चलचित्रले भने आफू समेत सफल हुने अपेक्षा गरेको बताइन् ।

चलचित्रमा डेब्यु गर्दै गरेकी “माइली बुहारी” नामले परिचित सुमित्रा दाहालले आफूलाई हँसाउन भन्दा रुवाउन नै सहज हुन्छ होला भन्दै निर्माताले कुरा गरेर चलचित्रमा जोडिएको बताइन् ।

सेतो रङ्ग अभाव भइरहेको समयमा यो चलचित्रले सेतोपना बचाउने अपेक्षा अभिनेता नीर शाहको रहेको छ । चलचित्रको कथामा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको छ।

नेपाली चलचित्रमा कमै उठान गरिने विषयलाई मनोरञ्जनात्मक तथा प्रभावशाली सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य चलचित्रको रहेको छ। कथाको मूल भाव र घटनाक्रमलाई रहस्यपूर्ण राख्दै दर्शकलाई सोच्न, महसुस गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *