प्रज्जवल थापा, दुलेगौंडा । छब्दी देउरालीमा सम्पन्न प्रथम साविक गाउँ तथा वडास्तरीय पुरुष/भेट्रान्स भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि सेभेन गाइज, घिरिङ गजरकोटले जितेको छ । बिहीबार दिउँसो भएको फाइनल खेलमा आयोजक छब्दी देउराली युथ क्लबलाई २-० को सोझो सेटमा पराजित गर्दै सेभेन गाइज, घिरिङले उपाधि चुमेको हो ।
उपाधिसँगै सेभेन गाइजले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेतामा सिमित छब्दी देउराली युथ क्लबले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । यस्तै तेस्रो स्थान हात पारेको लामागाँउले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर-१०, छब्दी देउरालीस्थित कुसुन्डे खेल मैदानमा भएको फाइनल खेलमा आयोजकमाथि पाहुना टोली बलियो देखियो । रोमाञ्चक पहिलो सेट २६-२४ ले आफ्नो पोल्टामा पारेको सेभेन गाइजले दोस्रो सेट २५-१७ ले जित्दै उपाधिमा आफ्नो नाम लेखाएको हो । सेभन गाइजले तुलात्मक रुपमा बलियो मानिएको अन्नपूर्ण युवा क्लब, घान्द्रुकलाई २-० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगेको थियो ।
यस्तै भेट्रान्सतर्फको उपाधि लेक सिटी पोखराले जितेको हो । बिहीबारनै भएको फाइनल खेलमा लेक सिटीले आयोजक भेट्रान्सलाई २-० को सोझो सेटमा पराजित गरेको हो । यससँगै पहिलो स्थान हात पारेको लेक सिटीले खसीसहित मेडल र प्रमाणपत्र पाउँदा उपविजेता घरेलु टोलीले बोकासहित मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

पुरुषतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी च्याम्पियन टोलीका होम बहादुर थापा घोषित भए । व्यक्तिगत विधामापनि च्याम्पियन टोलीकै वर्चस्व रह्यो । सेभेन गाइजका दिपक शाही उत्कृष्ट सेटर, सेभेन गाइजका मिलन थापा उत्कृष्ट डिफेन्डर, सेभेन गाइजका रुकेश थापा उत्कृष्ट स्पाइकर र छब्दी देउराली युथ क्लबका भोजराज विसी अनुशासित खेलाडी चुनिए । उनीहरुले शिल्ड, मेडल र प्रमाण पत्र हात पारे ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ छब्दी देउराली युथ क्लबको आयोजनामा भएको भलिबल प्रतियोगिता कुल १५ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको अन्तिम दिन आज भलिबलसँगै सास्कृतिक कार्यक्रमपनि भएको थियो ।
थप तस्बिर हेर्नुहोस् :-
