प्रज्जवल थापा, दुलेगौंडा । छब्दी देउरालीमा जारी प्रथम साविक गाउँ तथा वडास्तरीय पुरुष/भेट्रान्स भलिबल प्रतियोगिताको समापन समारोहमा आज हुँदैछ । तनहुँको शुक्लागण्डकी-१०, छब्दी देउरालीस्थित कुसुन्डे खेल मैदानमा आज हुने समापन समारोहमा पुरुष भलिबलको सेमिफाइनल र फाइनल खेलसँगै सास्कृतिक कार्यक्रमपनि हुनेछ ।
कार्यक्रममा राष्ट्रिय कलाकार शंकर पन्तसहित चर्चित मोडल विना विश्वकर्मा, लोक गायिका साधना बास्तोला, निरा वाग्ले र लोक गायक विष्णु पराजुलीसँगै स्थानीय कलाकार सन्दीप विश्वकर्माको प्रस्तुति रहने आयोजकले जनाएको छ । यस्तै आजै पुरुष भलिबलको सेमिफाइनल र फाइनल खेल, म्युजिकल चियर र छेलो हान्ने प्रतियोगितापनि हुनेछ ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ छब्दी देउराली युथ क्लबको आयोजनामा आइतबारबाट शुरु भलिबल प्रतियोगितामा तनहुँ, कास्की र स्याङ्जाका विभिन्न टोलीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन हुने टोलीले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुने टोलीले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउँदा तेस्रो हुने टोलीले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पार्नेछ ।
यस्तै वेस्ट स्पाइकर, वेस्ट डिफेन्डर, वेस्ट लिफ्टर, वेस्ट प्लेयर, अनुशासित खेलाडीलाईपनि शिल्ड, मेडल र प्रमाण पत्रकासाथ सम्मान गरिनेछ ।
