सिन्धुपाल्चोकमा कांग्रेस सभापतिका लागि आधा दर्जन आकांक्षी

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् ।

उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई तीब्रता दिएका हुन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिका लागि तयारी गरेको बताए ।

मङ्गलबार इन्द्रावती–४ को वडा अधिवेशन उद्घाटन गर्दै उनले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिवसमेत रहेका तामाङले आफूलाई नेता तथा कार्यकर्ताको साथ रहेको बताए ।

सिन्धुपाल्चोक कांग्रेसका पूर्वसचिवसमेत रहेका तामाङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

कांग्रेसलाई एक ढिक्का बनाएर लैजान पनि आफ्नो नेतृत्व जिल्लाले खोजिरहेको तामाङको दाबी छ । “कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीका रुपमा अगाडि बढाउनु जिल्लामा कांग्रेसभित्र गुट र उपगुटको राजनीति अन्त्य गर्न सभापतिको उम्मेदवार हुन लागेको हुँ,” उनले भने । साथै तामाङले गाउँपालिका अध्यक्षमा नदोहोरिने बताए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि सभापतिमा दाबी गरेका छन् । देशभरका स्थानीय तहमा उत्कृष्ट काम गरेर चर्चित बनेका शेर्पा जिल्ला सभापतिको तयारीमा लागेका हुन् ।

उनले केन्द्रमा जस्तै जिल्लामा पनि गुटैगुट भएर कांग्रेसको सङ्गठन नै धरापमा परेकाले आफ्नो उम्मेदवारी गुटरहित कांग्रेस बनाउन रहेको बताए ।

जिल्लामा हालसम्म धेरैले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, क्षेत्रीय सभापतिद्वय आइतमान तामाङ र बालकृष्ण बस्नेत, हालका जिल्ला सभापति विकास लामा, पूर्वसचिव कृष्णप्रसाद न्यौपाने, पूर्वसभापति भूपेन्द्र थापा, महासमिति सदस्य प्रेमध्वज लामासमेत सभापतिको आकांक्षी देखिएका छन् ।

पार्टीलाई एक ढिक्का बनाउन सहमतीय नेतृत्वको लागि छलफल चलाउन काँग्रेस कार्यकर्ताले चौतर्फी दबाब दिइरहेको नेपाली काँग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।

बाजुराका ६९ वडामा अधिवेशन सुरु

काँग्रेसको १४औँ महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशनका लागि बाजुराका ६९ वडाको अधिवेशन आजदेखि सुरु गरिएको छ । १४औँ महाधिवेशन तथा ७औँ जिल्ला अधिवेशनका लागि एकैसाथ वडा अधिवेशन गर्न लागेको नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए ।

उनका अनुसार यही असोज २ गते बसेको नेपाली कांग्रेस बाजुराको बैठकले असोज ६ गते गर्ने निर्णय भएको बताए । भौगोलिक विकटता र क्रियाशील विवादका कारण केन्द्रीय सर्कुलरअनुसार असोज ५ गते सम्भव नभएपछि जिल्ला निर्वाचन समितिको प्रस्तावमा पार्टीले असोज ६ गते बुधबार गर्ने निर्णय गरेको नेपाली कांग्रेस बाजुराका सचिव दीपकविक्रम शाहले जानकारी दिए ।

वडा अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे गृह वडामा समेत सहभागी भएको सचिव शाहले बताए । वडाबाट नै क्षेत्रीय प्रतिनिधि आउनुपर्ने भएकाले जिल्लाका शीर्ष नेताहरु आ–आफ्नो वडाका गएका छन् । पार्टीको १४औँ महाधिवेशनका लागि वडामा हुने अधिवेशनमा केन्द्रीय सदस्य बद्री पाण्डे हिमाली गाउँपालिकाको रुगिनमा पुगेका छन् ।

यस्तै पार्टी सभापति कविराज पण्डित, पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी, संविधानसभाका सदस्य देवराज जोशी, महासमिति सदस्य पद्मबहादुर शाही, जुना दानी, वरिष्ठ नेता रामसिंह रावल र महाधिवेशन प्रतिनिधि चक्रबहादुर शाह लगायतका नेताहरु वडाको अधिवेशनमा सहभागी भएको नेपाली कांग्रेस प्रचारप्रसार उपसमिति संयोजक रनसिंह अयडीले बताए ।

आज हुने वडा अधिवेशनमा सहमति सहकार्य र एकताको अधिवेशन बनाउने गरी एकै साथ कांग्रेसले वडा अधिवेशन गरेको प्रचारप्रसार उपसमिति संयोजक अयडीले बताए । पार्टीको ७औँ जिल्ला अधिवेशनका लागि वडाको असोज ६, गाउँ÷नगरपालिका अधिवेशन असोज ९, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन असोज १२ र जिल्ला अधिवेशन असोज १६ गते गर्ने तयारी भएको जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताए ।

उनका अनुसार निर्वाचन समितिको प्रस्तावमा नेपाली कांग्रेस बाजुराले निर्णयलाई सदर गर्दै तोकिएको समयमा अधिवेशन हुने बताए । वडा, गाउँ/नगरपालिका र प्रदेश निर्वाचन क्षेत्र अधिवेशनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण गरी अधिवेशनमा खटाइएको निर्वाचन अधिकृत भण्डारीको भनाइ रहेको छ ।

जिल्लाका ६९ वडामा, गाउँ÷नगर र प्रदेश निर्वाचन क्षेत्रमा १६२ मतदान र सहायक मतदान अधिकृत खटाइएको छ । पार्टीको ७औँ जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । अधिवेशनका लागि आवास व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वयम्सेवक परिचालय लगायतका उपसमिति बनाएर तयारी भइरहेको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *