USAID

समर्थकको नजरमा नेपाल सुपर लिग फाइनल

  • 149
    Shares

प्रज्जवल थापा । नेपालमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फूटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग(एनएसएल) को उपाधिको लागि आज धनगढी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

आजको दिनमा सम्पुर्ण नेपाली फूटबल समर्थकको नजर भने नेपाल सुपर लिगको फाइनलमा हुनेछ । झन्डै एक महिना चलेको प्रतियोगिताले आज पहिलो विजेता पाउनेछ । यसै सन्दर्भमा रहेर नेपाल समाजले केहि फूटबल समर्थकसँग फाइनलको बारेमा उनीहरुको धारणा लिएको थियो । यस्तो छ फाइनललाई लिएर समर्थकको धारणा:-

” पहिलो खेलमा काठमाडौंले आफ्नो तालमेल मिलाउन सकेन । काठमाडौंले पाएका अवसरलाई सदुपयोग गर्न नसक्नु र डिफेन्समा स्थिर रहन नसक्नु हारको कारण थिए । तर त्यसपछिको खेलमा भने काठमाडौंले सुधार गरेको छ । पछिल्लो दुवै भेटमा धनगढीसँग पराजित भएपनि आजको खेलमा बदला लिँदै अनुभवी प्रशिक्षक बाल गोपाल महर्जनले काठमाडौंलाई उपाधि दिलाउनेछन् ।”
– निर्भिक अधिकारी, काठमाडौं

“आजको खेलमा मेरो समर्थन भने धनगढी एफसीलाई रहनेछ । काठमाडौंका विदेशी खेलाडी फर्ममा रहेपनि उनीहरुलाई रोक्दै आजको खेल धनगढीले जित्नेमा विश्वस्त छु । धनगढीका केही महत्त्वपूर्ण खेलाडी घाइते भएपनि चार दिनको लामो विश्राम पाउँदा उनीहरु रिकभर भैसकेका छन् ।”
                               – सुबिद दाहाल, काठमाडौं

“कोरोना महामारीको समयमा सुपर लिग सफलताका साथ सम्पन्न हुन लागेको छ । यसले गार्हो परिस्थितिमापनि नेपालमा सफलताका साथ प्रतियोगिता आयोजना गर्न सकिन्छ भन्ने उदाहरणपनि देखाएको छ । फाइनलको कुरा गर्ने हो भने आजको खेल प्रतिस्पर्धात्मक हुनेछ भन्नेमा मेरो दुई मत छैन । मिहिनेती खेलाडीले भरिपूर्ण दुवै टोली पहिलो संस्करणको फाइनल खेल जित्दै इतिहासको पानामा आफ्नो नाम लेखाउन चाहन्छन् । दुवै टोलीका विदेशी खेलाडी राम्रो फर्ममा छन् । त्यसैले फूटबल प्रेमीको लागि आजको खेल रोमाञ्चक हुनेछ ।”
                               – गणेश श्रेष्ठ, गोरखा

“नेपाली फूटबलमा नेपाल सुपर लिगले सकारात्मक रौनक ल्याएको छ । जुन नेपाली फूटबलको लागि आवश्यक थियो । यस्तै आज हुने फाइनल खेलपनि रोमाञ्चक हुनेमा विश्वस्त छु । दुवै टिम लिगको शिर्ष दुई स्थानमा रहँदै प्लेअफको बाटो तय गरेका थिए । धनगढीले लिगमा काठमाडौंलाई दुई पटक पराजित गरिसकेपनि काठमाडौंले आजको खेलमा बदला लिँदै उपाधि आफ्नो पोल्टामा पार्नेछ ।”
                            – क्षितिज पौडेल, तनहुँ

यो पनि पढ्नुहोस्:- एनएसएल: उपाधिको लागि धनगढी र काठमाडौं भिड्दै

तस्बिर:- नेपाल सुपर लिग फेसबुक


  • 149
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *