एनएसएल: उपाधिको लागि धनगढी र काठमाडौं भिड्दै

प्रज्जवल थापा । नेपालमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फूटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग(एनएसएल) को उपाधिको लागि आज धनगढी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

आज दुवै टोली फाइनल खेल जित्दै उपाधि उचाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टिम उपाधि जित्नको लागि सक्षम रहेको बताएका थिए । धनगढी किरण चेम्जोङको कप्तानीमा मैदान उत्रिनेछ भने काठमाडौं विकेश कुथुको कप्तानीमा रहनेछ ।

यस संस्करणमा मात्र दुई टोलीबिच तेस्रो भेट हुन लागेको हो । यसअघिको दुवै खेलमा काठमाडौंमाथि धनगढीले बाजी मारेको थियो । धनगढीले काठमाडौंलाई लिग चरणको खेलमा ३-० र पहिलो प्लेअफ खेलमा २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैले धनगढी आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ भने काठमाडौं आजको फाइनल खेलमा बदला लिँदै उपाधि जित्न चाहन्छ ।

धनगढीले पहिलो प्लेअफ खेलमा काठमाडौं रेजर्सलाईनै २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यसअघि धनगढी लिगको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । धनगढीले लिगको शुरुवात भने हारबाट गरेको थियो । पहिलो खेलमा विराटनगरसँग पराजित भएको धनगढीले त्यसपछि भने लय समातेको थियो । लिग चरणको ६ खेलमा धनगढीले ३ जित, १ बराबर र २ हारको नतिजा निकाल्दै १० अङ्क जोडेको थियो ।

यता काठमाडौं भने दोस्रो प्रयासमा फाइनल पुगेको हो । प्लेअफको पहिलो खेलमा धनगढीसँग पराजित हुँदै सिधै फाइनल पुग्नबाट बन्चित भएको काठमाडौं दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई ३-० गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । काठमाडौं लिग चरणको ६ खेलमा ४ जित, १ बराबर र १ हारको नतिजासहित १३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको थियो ।

अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा झन्डै १ महिना चलेको लिगमा सात टोलीको सहभागिता रहेको थियो । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका थिए ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

तस्बिर:- नेपाल सुपर लिग फेसबुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *