चार पटक मेलम्ची उद्घाटन, तीन पटक खोप हस्तान्तरण !

तिनीहरुको देशमा
सुरुमा शिलान्यास हुन्छ
बीचमा निर्माण हुन्छ
र, अन्तिममा उद्घाटन हुन्छ
मेरो देशमा
सुरुमा शिलान्यास हुन्छ
बीचमा शिलान्यास हुन्छ
र अन्तिममा शिलान्यास हुन्छ
कवि अर्जुन पराजुली ।

कवि अर्जुन पराजुलीले भने जस्तै मेलम्ची खानेपानी आयोजनाको हकमा सुरुमा शिलान्यास भएपनि बीचमा चाहिँ शिलान्यास भएन । तर उद्घाटन भने पटक पटक भइरहेको छ । उद्घाटनका श्रृंखला अझै चलिरहेको छ । मन्त्री, कर्मचारी र प्रधानमन्त्रीले उद्घाटन गरेपनि राष्ट्रपतिले उद्घाटन गर्न भने अझै बाँकी छ । आयोजना शिलान्यास गरेको तीस वर्षपछि आइतबार साँझदेखि काठमाडौँका करिव ५० हजार धाराबाट मेलम्चीको पानी झरेको छ । आइतबार महाँकालबाट सो क्षेत्रका उपभोक्ताको धारामा पानी वितरणको कर्मचारीले शुभारम्भ गरेका थिए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्तरुपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गरेका हुन् । फागुन १० गते खानेपानी मन्त्री मणि थापा मेलम्चीको मुहानमै पुगेर पानीलाई सुरुङमा पठाउने कार्यको शुभारम्भ गरेका थिए । त्यसपछि फागुन २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङबाट आएको पानीलाई सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झारेर शुभारम्भ गरे ।

आगामी सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपस्थित निर्माणाधीन धाराबाट औपचारिक उद्घाटन गरेर मेलम्चीको पानी वितरण गर्ने कार्यक्रम तय भएको छ । तर अचम्म चाहिँ के भने कर्मचारीले शुभारम्भ गरेर उपभोक्ताका घरका धारामा पानी आउन सुरु भएपछि फेरि राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । मेलम्चीको सपना देखाउने सन्तनेता कृष्णप्रसाद भट्टराईको नाम समेत नलिने सरकारको यो उद्घाटनको श्रृंखलाले उपभोक्तालाई भने अचम्मित बनाएको छ ।

यस्तै श्रृंखला चल्यो चीनले नेपाललाई अनुदानमा दिएको कोभिडविरुद्धको खोप हस्तान्तरण पनि । चीन सरकारले नेपाललाई आठ लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको थियो । खोप बेइजिङमा केही दिन अघि आएको थियो । चीन सरकारले बेइजिङमा नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई साे खाेप हस्तान्तरण गरेकाे थियाे ।

पाइसकेकाे खाेप लिन नेपालले आफैं बेइजिङ जहाज पठाउनुपर्यो । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले सोमबार बिहान खोप ल्यायो । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम गरी नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई खोप हस्तान्तरण गरिन् । चीनले आफूले विकास गरेको खोप ५० देशमा पुर्याइसकेको छ । त्यहाँ खोप हस्तान्तरण कार्यक्रममा सरकार वा राष्ट्रप्रमुख नै सहभागी हुने गरेका छन् । तर हाम्रा प्रधानमन्त्री सो कार्यक्रममा सहभागी भएनन् । राजदूतले स्वास्थ्य मन्त्रीलाई खोप हस्तान्तरण गरेपछि सकिएको थियो ।

तर सोमबारै फेरि प्रधानमन्त्रीले दिउँसो एकाएक बालुवाटारमा खोप हस्तान्तरण कार्यक्रम राखे र राजदूतबाट खोप हस्तान्तरणको काम भयो । पछिल्लो समय प्रधानमन्त्री ओली चिनियाँ राजदूतसँग असन्तुष्ट रहेका खबर सार्वजनिक भएका थिए । दिनमा आधादर्जन कार्यक्रममा सहभागिता जनाउने प्रधानमन्त्री विमानस्थल गएर खोप हस्तान्तरण कार्यक्रममा सहभागी भएको भए हुन्थ्यो नि । विमानस्थलमा हस्तान्तरण भइसकेको खोप लिन प्रधानमन्त्रीले किन बालुवाटारमा कार्यक्रम राख्नुपर्थ्याे त ? विश्वमा कोभिड खोप खरीद गर्छु भन्दा पनि नपाइरहेका बेला अनुदानमा चीनले दिएको खोप लिन प्रधानमन्त्री विमानस्थल जाँदा उनकै स्वाभिमान बढ्थ्यो होला नि । तर स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गरिसकेको खोप फेरि बालुवाटारमा अर्को कार्यक्रम राख्नुले चाहिँ…..लाई भन्दा देख्नेलाई लाज जस्तो भएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *