नर्थ लण्डन डर्बीमा आर्सनलद्वारा टोटेन्हाम पराजित

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको नर्थ लण्डन डर्बीमा आर्सनल विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटेन्हामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्ड र एलेसान्द्रे लाकाजेट्टेले एक/एक गोल गरे । टोटेन्हामको लागि इरिक लमेलाले एक गोल गरेका थिए । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । ३३ औं मिनेटमा लुकास मोउराको पासमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लमेलाले गोल गर्दै टोटेन्हामलाई खेलमा अगाडि बढाएका थिए ।

४५ औं मिनेटमा किएरान टोएर्नीको पासमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई बराबरीमा ल्याए । यस्तै दोस्रो हाफको ६४ औं मिनेटमा लाकाजेट्टेले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । विपक्षी खेलाडीले लाकाजेट्टेलाई पेनाल्टी क्षेत्रमा लडाएपछि भिएआरको सहयोगमा रेफ्रीले आर्सनलाई पेनाल्टी दिएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल २-१ गोल अन्तरले विजयी भएको हो ।

जितसँगै आर्सनल २८ खेलमा ४१ अङ्क जोड्दै लिगको दसौं स्थानमा रहेको छ । पराजित टोटेन्हाम २८ खेलमा ४५ अङ्कको साथ सातौं स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *